News राजनीति

प्रकाण्ड भन्छन्, ‘निर्मलाका हत्यारालाई केही दिनभित्र कारबाही गर्छौं’ 

प्रकाण्ड भन्छन्, ‘निर्मलाका हत्यारालाई केही दिनभित्र कारबाही गर्छौं’ 

कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बलात्कारी र भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन् ।

 

गृहजिल्ला कालिकोट पुगेका नेता विकले देशमा भ्रष्टाचारले सीमा नाघेकाले अब पार्टीले कारवाहीको निशाना तयार गरेको दाबी गरे ।

 

सदरमुकाम मान्ममा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘अब त अति भो, गाउँमा आएको सिंहदरबारको नालीवेली बाहिर ल्याउछौं ।’

 

पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका विश्वकर्माले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने समेत बताए । 

 

निर्मलाको घटनामा संलग्न अपराधीलाई सरकारले चार महिनासम्म संरक्षण गरेको उनले आरोप लगाए ।

 

उनले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले अब पनि कारबाही गर्न नसक्ने बताउँदै केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै निर्मलाको घटना पनि त्यसै गरी मिलाउने प्रयास भइरहेको आरोप लगाए ।

 

निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनको दाबी छ ।

 

निर्मला हत्या प्रकरण सम्पूर्ण नेपाली चेलीको अस्तित्वसँग जोडिएको बताउँदै उनले राज्यले संरक्षण गरेका चेलीको अस्मिता लुट्ने अपराधीलाई तह लगाउने दाबी गरे ।  यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

नेत्रविक्रम चन्द खड्कबहादुर विश्वकर्मा

विशेष