News

निर्मला प्रकरणः सामूहिक बलात्कारको आशंका, चारजना पक्राउ

निर्मला प्रकरणः सामूहिक बलात्कारको आशंका, चारजना पक्राउ

काठमाडौ । बलात्कारपछि हत्या गरिएको बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको पछिल्लो अनुसन्धानले संकेत गरेको छ । 

 

यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौँमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कार गरेको आशंकामा छिमेकी प्रदीप रावल काठमाडौं आएपछि पक्राउ परेका हुन् ।

 

उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो ।

 

उनीहरू सबैजना लागूऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ ।

 

केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए ।

 

तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए ।

 

चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदीपलाई काठमाडौंमा र अरूलाई महेन्द्रनगरमा समातिएको प्रहरी स्रोतले जनाएको छ ।

 

प्रदीपसँग सोधपुछपछि अन्य तीनजनालाई महेन्द्रनगरमा प्रहरीले पक्राउ गरेको हो । ‘अहिलेसम्मको सोधपुछमा उनीहरूको संलग्नताको धेरै आधार देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, तर, प्राविधिक पक्ष केलाउन बाँकी छ ।’ चारै जनाको डिएनए परिक्षणको प्रक्रिया सुरु भइसकेको प्रहरी स्रोत बताउँछ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

सामूहिक बलात्कार निर्मला पन्त

विशेष