News

ढाँटेर जागिर खाने कर्मचारीबाट २ करोड असुली

ढाँटेर जागिर खाने कर्मचारीबाट  २ करोड असुली

काठमाडौं । निजामती किताबखानाले झुक्याएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोडभन्दा बढी रकम असुल्ने निर्णय गरेको छ । 

 

रकम असुल उपर नहुँदासम्म ती सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत किताबखानाले गरेको छ ।

 

गत आर्थिक वर्ष २०७४÷७५ र चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको अवधिमा पाँच दर्जन बढी कर्मचारी कारबाहीमा परेको किताबखानाले जानकारी दिएको छ । कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि सहसचिवस्तरका कर्मचारी छन् ।

 

किताबखानाका अनुसार पहुँच र शक्तिका भरमा तथा सरकारलाई ढाँटेर जागिर खानेहरूमाथि कारबाही थालिएको हो । 

 

यसअघि किताबखानाले कडाइ नगर्दा कतिपय कर्मचारीले सेवानिवृत्त भएको सात वर्षसम्म पनि जागिर खाइरहेको पाइएको छ ।

 

तर, अहिले किताबखानाले विशेष निगरानी गर्दै खोजतलासलाई व्यापक पार्न थालेपछि बढी अवधि जागिर खाएका कर्मचारीहरू धमाधम कारबाहीमा पर्न थालेका हुन् । 

 

किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले उमेर सकिएपछि पनि जागिर खाने कर्मचारीबाट करोडौं रुपैयाँ असुल गर्ने निर्णय भएको जानकारी दिए ।

 

प्रवक्ता पराजुलीले रकम असुल नहुँदासम्म सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत गरिएको बताए । किताबखानाले उनीहरूमाथि थप छानबिन थालिएको जनाएको छ । 

 

जागिर अवधि सकिएपछि पनि उनीहरूले लिएको थप तलब, सुविधा तथा भत्ता बापतको सबै रकम जफत गर्ने निर्णय भएको किताबखानाका प्रवक्ता पराजुलीले जानकारी दिए । 

 

पेन्सन पट्टा रोक्का भएका कर्मचारीले अब सबै रकम राज्यकोषमा दाखिला गर्नुपर्छ । 

 

दाखिला नगरे उनीहरूको पेन्सन पट्टा नबन्ने र पेन्सन नपाउने पराजुलीले जानकारी दिए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

कर्मचारी

विशेष