News

राष्ट्रपति आउँदा उडान नै रद्द

राष्ट्रपति आउँदा उडान नै रद्द

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकाश र ग्राउन्डमा ‘होल्ड’ राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

 

कतार एयरवेजको भीभीआईपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । उक्त विमान काठमाडौंमा १०.४० मा अवतरण गर्ने भनिएकामा आधा घण्टा ढिलो भएको थियो ।

 

त्यसपछि आधा घण्टाका लागि सबै व्यावसायिक उडान रोकिएका थिए । उडान डिले हुँदा पोखराका लागि बिहीबार तय गरिएका तीन उडान रद्द गर्नुपरेको बुद्ध एयरले जनाएको छ । 

 

भीभीआईपी उडान अवतरण गराइँदा सिमराको आकाशमा नेपाल वायुसेवा निगमको एयरबस, जेट एयरवेज तथा आन्तरिक तर्फका बुद्ध र श्री एयरलाइन्सका विमान ‘होल्ड’ मा राखिएका थिए ।

 

यता काठमाडौंबाट बाहिर जाने विमानलाई स्टार्टअप अनुमति दिइएको थिएन । पछि ट्राफिक चाप बढेकाले काठमाडौं टावरका एयर ट्राफिक कन्ट्रोलरले पश्चिमबाट काठमाडौं आउँदै गरेका श्री र बुद्धसहितका विमानलाई भरतपुरमाथिको आकाशमा होल्डमा राखे ।

 

काठमाडौंमा भीभीआईपी उडान हुने दिन दिनभर उडान डिले हुन्छन् । ‘आज उसै पनि बिहान नौ बजेमात्रै एयरपोर्ट खुलेको थियो, भीभीआईपी उडानका कारण आन्तरिक विमान तोकिएको समयभन्दा डेढदेखि २ घण्टासम्म डिले भए,’ एक निजी एयरलाइन्सका म्यानेजरले भने ।

 

हिउँदयाममा हुस्सु र तुवाँलोलगायतका कारण पाइलटले आँखाले हेरेर गरिने उडान (भीएफआर) को दाँजोमा उपकरणका सहायतामा गरिने (आईएफआर) उडानमा भर पर्नुपर्छ । 

 

उपकरणको विधिबाट हुने उडानमा एउटा जहाज अवतरण भएको करिब आठदश मिनेटपछि अर्को विमानलाई उड्न एटीसीले अनुमति दिन्छन् । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमण उडान रद्द

विशेष