News मनोरञ्जन

चलचित्र ‘प्रसाद’ आजदेखि प्रदर्शनमा

चलचित्र ‘प्रसाद’ आजदेखि प्रदर्शनमा

काठमाडौं । शुक्रबारबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिज पाएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भए सँगै चलचित्र बजारमा प्रसादको चर्चा थप चुलिएको थियो ।

 

 

काठमाण्डौको क्यूएफएक्स चेन अन्र्तगतको ५ वटा हलमा यसलाई सुरुवातमा १२ शो दिइएको थियो । अहिले चलचित्रलाई क्यूएफएक्सले १६ शो दिएको छ । शुक्रबार चलचित्रको अधिकांश शोमा दर्शकको चाप उच्च देखिएको छ । चलचित्रको आधा लगानी ओभरसिज राइट्सबाटै उठेको बताइएको छ । 

 

शनिबार बिदाको दिन हुदाँ चलचित्रको बुकिङ आक्रामक देखिएको छ । प्रिमियरबाट समेत उच्च तारिफ कमाएको यो चलचित्रले दर्शकको मन जित्ने संकेत देखिएको छ ।

 

चलचित्रमा समावेश गीतलाई पनि दर्शकले रुचाएका छन् । नेपालमा प्रदर्शन हुनु अगावै चलचित्रको विदेशी डिमाण्ड उच्च थियो । 

 

चलचित्रमा निश्चल बस्नेत, विपिन कार्की, नम्रता श्रेष्ठलगायत काकलाकारहरुको मुख्य भूमिका रहेको छ ।  चलचित्रले विवाह भइसके पश्चात पनि सन्तान नभएको र त्यसैकारण कारण आई परेका विभिन्न उतार चडावको कथा प्रस्तुत गरेको छ । 

 

 

चलचित्रमा विपिन कार्कीले ग्रामीण भेगको एक दलित युवाको भूमिका निर्वाह गरेका छन् । यता नायिका नम्रता श्रेष्ठ उनै विपिनकी श्रीमतीका रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रको कथा विपिन, नम्रता र निश्चलकै वरिपरि घुमेको छ ।

 

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत रहेको छ ।

विशेष