निर्मला हत्या प्रकरणः २ अभियुक्तले आरोप स्विकारे, यस्तो भने सोधपुछमा
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् ।
सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० स्रोतले बतायो । महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् ।
दुवै लागुऔषध सेवन गर्थे । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् । तर, डिएनए रिपोर्ट नै निर्णायक हुने उनीहरूको भनाइ छ ।
के भने सोधपुछमा ?
पक्राउ परेका प्रदीपले निर्मलालाई आफूले पहिले नै चिनेको बताएका छन् । त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको बताएका छन् ।
साथी विशाल चौधरी पनि लागुऔषध सेवनका लागि आसपासमै रहेको र आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि–पछि आएको उनको भनाइ छ ।
निर्मलासँग गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको उनले बताएका छन् ।
पछि विशालले समेत बलात्कार गरेको उनले प्रहरीलाई बताएका छन् । बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको दुवैको भनाइ छ ।
‘दुवैलाई छुट्टाछुट्टै सोध्दा करिब ८० प्रतिशत कुरा मिल्दोजुल्दो छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘मोबाइलको विश्लेषणमा पनि घटनाका वेला उनीहरू त्यही क्षेत्रमा हुनु र घटनापछि गाउँमा बस्न छाड्नुले उनीहरूको संलग्नताको आधार बलियो बनाएको हो ।’
दुवैजनाले लागुऔषधको नसामा बलात्कार गरेको बताएका छन् । तर, उनीहरूको भनाइलाई मात्र आधार नमानेर प्रहरी बलियो प्रमाण खोज्नतर्फ लागेको छ ।
प्रदीपले यसअघि पनि आफन्त नै बलात्कार गरेको र सो घटना घरभित्रै गुपचुप राखिएको अनुसन्धानमा खुलेको छ ।
उनकै एक आफन्तले प्रहरीसँग प्रदीपको विगतबारे बताएका छन् । उनी चोरीका घटनामा विगतमा पनि पक्राउ परेका व्यक्ति हुन् ।
दिनेशको प्रत्यक्ष संलग्नता भेटिएन
पक्राउ परेका अर्का अभियुक्त दिनेश चौधरीको भने प्रत्यक्ष संलग्नता नदेखिएको प्रहरी अधिकारी बताउँछन् ।
विशाल र दिनेशलाई बिहीबार महेन्द्रनगरबाट काठमाडौं ल्याएर सोधपुछ अघि बढाइएको छ । उनीहरूलाई अभिभावकसहित काठमाडौं ल्याइएको हो ।
डिएनए रिपोर्ट आउन केही दिन लाग्ने
शंकास्पद प्रदीप, विशाल र दिनेशको डिएनए परीक्षण प्रक्रिया अघि बढिसकेको छ । रिपोर्ट आएपछि मात्र उनीहरूविरुद्ध थप प्रमाण संकलन गरिने प्रहरीले जनाएको छ ।
डिएनए रिपोर्ट आउन अझै २–३ दिन लाग्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले जनाएको छ ।
प्रहरीले उनीहरूसहित अन्य १६ जनाको समेत डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ ।
यसअघि नौजनाको परीक्षण गरिएकोमा नेगेटिभ आएको थियो । १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएकोमा प्रहरीले सुरुवाती चरणमा अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेको आरोप लाग्दै आएको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
निर्मला पन्त