परिक्षा नै नदिने पास, कलेज टपर फेल भएपछि विद्यार्थी आन्दोलित
पोखरा । उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीबाट नतिजा नराम्रो आएको भन्दै कास्कीका ११ कक्षाका विद्यार्थीहरु आन्दोलित भएका छन् ।
रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा राम्रो नआएको भन्दै यहाँका विभिन्न स्कुलका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते प्रकाशन गरेको नतिजामा लापारबाही भएको उनीहरुको आरोप छ ।
नतिजाप्रति असन्तुष्ट जनाउँदै ‘रिटोटलिङ’ गर्दा समेत लापारबाही भएको विद्यार्थीहरुको गुनासो छ ।
रसायनशास्त्र, भौतिकशास्त्र र गणित विषयको रिटोटलिङ गर्दा रिटोटलिङ नै नगरेको अंग्रेजी विषयमा ग्रेड बढेर नतिजा आएको विद्यार्थीले बताएका छन् ।
परिक्षा बोर्डको लापारबाहीका कारण १२ कक्षाको परिक्षाको तयारी गर्नुपर्ने बेलामा आन्दोलनमा उत्रनु परेको विद्यार्थी सोनीका गैरे बताउँछिन् ।
परिक्षामा नै सहभागी नभएका विद्यार्थीको रिजल्ट पास भएर आएको तर कलेज टपर सहित अब्बल विद्यार्थीको रिजल्ट नै बिग्रेको डायमण्ड स्कूलकी विद्यार्थी गैरेको गुनासो छ ।
परिक्षा बोर्डको लापरबाहीले गर्दा सयौं विद्यार्थीको भविष्यमै लापारवाही भएको बताउँछन् विद्यार्थी सागर पराजुलीले बताए ।
रिटोटलिङको नतिजामा पनि असन्तुष्टि जनाउँदै विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् । २ हजार ७ सय विद्यार्थीको नतिजामा सुधार नआएको विद्यार्थीले बताएका छन् ।
कास्कीका विद्यार्थीहरु नतिजा प्रकाशनको भोलिपल्ट २१ गतेदेखि नै परिक्षा बोर्ड कार्यालय पोखरा लगायत शैक्षिक र प्रशासनिक कार्यालयमा धर्ना गर्दै आएका छन् ।
परिक्षा बोर्ड पोखराले भने विद्यार्थीको गुनासो केन्द्रमा पुर्याएको बताएको छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
पोखरा विद्यार्थी आन्दोलित