News खेल

भैरहवाको पोखरामाथि कीर्तिमानी जित, रविले बनाए ४७ बलमा सतक 

भैरहवाको पोखरामाथि कीर्तिमानी जित, रविले बनाए ४७ बलमा सतक 

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजमाथि कीर्तिमानी जित निकालेको छ । भैरहवाका लागि भारतीय खेलाडी रवि इन्दर सिंहले नटआउट १२५ रन बनाए । 

 

भैरहवाले पोखरालाई ४ विकेटले पराजित गरेको हो ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको लिगको तेस्रो खेलमा २१६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले २ बल बाँकी छँदा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

पोखराले प्रस्तुत गरेको २ सय १६ रनको विशाल लक्ष्य पछ्याएको भैरहवाले रविको बिस्फोटक शतकमा ६ विकेट गुमाएर भेट्टायो।

ईपीएलमा कीर्तिमानी जित निकाल्ने क्रममा म्यान अफ दी म्याच रविले ४७ बलमै शतक पुरा गरेका थिए। उनले अविजित १२५ रन बनाए । ६० बलको सामना गरेका उनले १० छक्का र आठ चौका प्रहार गरे ।

 

भैरहवाका लागि पुनित मेहेरले १८ रनमा नट आउट रहँदा रायन टेन डोस्काटे १६, प्रदीप ऐरी ११, कप्तान शरद भेषवाकर ६ रन बनाए। आरिफ शेखले २३ रन जोडेपछि कीर्तिमानी जित सम्भव भएको हो।

सुरूवाती दुई ओभरमै ओपनर हरि शंकर शाह र प्रदीप ऐरीलाई गुमाएको भैरहवाको सुरूवात कमजोर थियो।

११ ओभरमा ४ विकेट गुमाउँदै ७३ रनमा खेल्दै गरेको भैरहवालाई रविन्दर सिंह र आरिफ शेखले पाँचौ विकेटका लागि उत्कृष्ट साझेदारी गरे। सिंह र आरिफले ८९ रनको साझेदारी गरेपछि भैरहवाको इनिङस उकासिएको थियो।

थप तीन ओभरमा टिमको स्कोर १६० रन हुँदा आरिफ आउट भएका थिए। त्यसपछि रोहित पौडेल र पुनित मेहरासँग साझेदारी गर्दै रविले भैरहवालाई ऐतिहासिक जित दिलाए। इपिएलको इतिहासमा यति ठूलो लक्ष्य पछ्याउँदै भेट्टाएको यो पहिलो अवसर हो।

 

बलिङतर्फ भने सुशन भारी, विक्रम सोव र पाउल कौगलिनले समान दुई दुई विकेट लिए ।

पोखराका लागि रिचार्ड लेवीले उत्कृष्ट सुरुवात गर्दै ७९ रन बनाएका थिए । विस्फोटक ब्याटिङ गर्ने क्रममा उनले ३६ बलमा सात छक्का र सात चौका प्रहार गरेका थिए ।

पहिलो विकेटका लागि लेवीले कायल कोएट्जरसँग मिलेर १०४ रनको साझेदारी गरेका थिए । त्यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सुनील धमलाले कोएट्जरसँग मिलेर ७२ रनको साझेदारी गरे ।

कप्तान कोएट्जर अर्धशतक बनाउनबाट तीन रनले चुके । उनले ४७ रन बनाएर आउट भए । ३७ बलको सामना गरेका कप्तान कोएट्जरले चार चौका र दुई छक्का प्रहार गरेका थिए । यता, धमलाले २३ बलमा दुई छक्का र एक चौका प्रहार गर्दै ३८ रन बनाएर आउट भए । त्यस्तै, पाउल कौगलिनले अविजित २० रन  बनाए ।

विशेष