News राजनीति

वामदेव भन्छन्, ‘बैठक प्रधानमन्त्री निवासमा होइन, पार्टी कार्यालयमा बस्नुपर्छ’

वामदेव भन्छन्, ‘बैठक प्रधानमन्त्री निवासमा होइन, पार्टी कार्यालयमा बस्नुपर्छ’

काठमाडौं । पार्टीको बैठक बोलाउने, पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताले केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् । 

 

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बोलाइएको बैठकमा पनि कुराएर अपमान गरिएको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बहिष्कार गरेका हुन् । 


यसै सन्दर्भमा नेकपाका वरिष्ठ नेता वामदेव गौतमसँग गरेको संक्षिप्त कुराकानीको केही अंशः

सरकारी निवास बालुवाटारमा बैठक बसेकोमा पनि आपत्ति हो ?

शनिबार हामीले त्यो कुरा उठाउन पाएनौँ । तर, भविष्यमा उठाइनेछ । हरेक बैठक प्रधानमन्त्रीनिवासमा हुन सक्दैन, पार्टी कार्यालयमै बस्नुपर्छ भन्ने मेरो मान्यता हो ।

 

आगामी सचिवालय बैठकमा म यो कुरा राख्छु । प्रधानमन्त्री शक्तिशाली हुनुहुन्छ, प्रधानमन्त्रीकै अध्यक्षतामा प्रधानमन्त्रीनिवासमा बैठक बस्छ, अनि अनेक हिसाबले त्यो प्रभावित हुने स्थिति पार्टी कार्यालयमा बस्दा हुनेछैन, त्यसैले पार्टी कार्यालयमै बैठक बस्नुपर्छ ।

 

प्रधानमन्त्री पार्टी कार्यालय जान सक्नुभएन भने अर्को अध्यक्षको नेतृत्वमा बस्छ । 

 

नौमध्ये चार नेताले बैठकै छाडेर हिँडेपछि अध्यक्षहरूले सम्पर्क गर्नुभएन ?


मलाई चाहिँ पछि दुवै अध्यक्षले फोन गरेर फर्किनुस् भन्दै बोलाउनुभयो । तर, हामी कोही पनि गएनौँ ।

 

मैले फर्किन्नँ भन्ने जवाफ फर्काएँ । हामी निस्किएपछि ५ जनाको बैठकले २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय गर्नुभएछ ।

 

तपाईंहरू हिँडे पनि पाँचजनाको बहुमतले निर्णय भएको छ, त्यसले के अर्थ राख्छ र ?


आजसम्म हाम्रो पार्टीमा दुईजना अध्यक्षमध्ये एकजना उपस्थित नहुँदा बैठक नबस्ने, अनौपचारिक भेला मात्रै गर्ने परम्परा थियो ।

 

अब त्यो परम्परा तोडियो । अबदेखि दुईमध्ये एक अध्यक्ष मात्र उपस्थित हुँदा पनि बैठक बस्छ, पार्टी सञ्चालन हुन्छ ।

 

हामी नै बैठक बसाउँछौँ । कोरम पुगेको स्थितिमा बैठक बस्छ, निर्णय गर्छ । हामीसँग बदला लिनकै निम्ति उहाँहरूले निर्णय गरेको भए पनि पार्टीलाई अगाडि बढाउने सिलसिलामा सकारात्मक पहल नै भएको छ भन्ने हामीले बुझेका छौँ । यसले पार्टीलाई राम्रै गरेको छ ।

 

त्यसो भए बैठकको निर्णय मान्नुहुन्छ ?


किन नमान्ने रु कोरम पुगेर गरेको निर्णय मानिन्छ नि । हाम्रै बारेमा या मेरै बारेमा पनि जे निर्णय बैठकले गरेको छ, त्यो मान्छु, तर निर्णय विधिवत् ढंगले गरिएको हुनुपर्छ ।

 

अबका दिनमा प्रधानमन्त्रीले समय निकाल्न सक्नुभएन भने बाहिर रहनुभएका अध्यक्षको नेतृत्वमा बैठक बस्छ, निर्णय गरिन्छ ।

 

हाम्रो उपस्थितिविनाको निर्णयले यो परम्परा बसालेकाले अब पार्टी सकारात्मक ढंगले अघि बढ्छ । यो अन्तर्वार्ता नयाँँ पत्रिका दैनिकबाट लिइएको हो । 


 

वामदेव गौतम

विशेष