काश्मिरमा बस दुर्घटना, १२ जनाको मृत्यु
श्रीनगर । भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा शनिबार १३ जनाको मृत्यु भएको छ ।
बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा २६ जना यात्रु रहेका थिए ।
पहाडी क्षेत्रमा पर्ने पुन्च भन्ने ठाउँमा साघुँरो बाटो र अफ्टयारो घुम्तीका कारण दुर्घटना भएको बताइएको छ ।
घटनास्थल श्रीनगरदेखि २०० किलोमिटर टाढा पर्ने वरिष्ठ प्रहरी निरीक्षक राजिव पाण्डेले जानकारी दिए ।
“घटनामा परी १३ जनाको मृत्यु भएको छ भने अरु घाइते भएका छन्,” पाण्डेले एएफपीसँग भने । उनले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि बताए । घाइतेहरुलाई विमानबाट जम्मुमा रहेको अस्पताल लगेर उपचार गराइएको छ ।
चालकको लापर्वाही, साँधुरो र खराब अवस्थाको सडक लगायतका कारणले भारतमा धेरै यस्ता दुर्घटना हुने गरेका छन् । भारत विश्वमै धेरै सडक दुर्घटना हुने देशमा पर्दछ ।
एक तथ्यांकअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी औसतमा एक लाख ५० हजार जनाको मृत्यु हुनेगरेको छ । एजेन्सी
बस दुर्घटना