प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीश जोशीले २८७ मुद्दा हेरे
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीश दीपकराज जोशीले २८७ मुद्दा हेरेका छन् । उनको एकल इजलासमा मात्रै ६६ वटा पेशी तोकिएका थिए ।
जोशीले गरेका केही आदेश विवादमा समेत परेका छन्। सर्वोच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि ३७ दिन बिदामा बसे । २६ भदौदेखि जोशी नियमित कामका लागि सर्वोच्च जान थाले । तर, प्रधानन्यायाधीश मिश्रले जोशीलाई दुई दिनसम्म पेशी तोकेनन्। उनी सर्वोच्च पुगेर हाजिर गर्थे, फर्किन्थे ।
२८ भदौमा भने जोशीको एकल इजलासमा पेशी तोकियो । उनको इजलासमा १ हजार ५०५ वटा पेसी तोकिएकोमा हालसम्म २ सय ८७ मुद्दा हेरेका छन्। बिदा सकेर सर्वोच्च फर्केपछि जोशीको इजलासमा २८ भदौदेखि असोज मसान्तसम्म ६६ वटा पेशी तोकिएको थियो । जसमा ४३ मुद्दामा कारण देखाउ आदेश, मिसिल भिकाउने आदेश गरेका छन् भने आठ मुद्दामा मात्रै फैसला गरेका छन्।
कात्तिकमा जोशीसहित संयुक्त इजलासमा पेशी तोकियो। संयुक्त इजलासमा कात्तिक महिनामा ३ सय ९० पेशी तोकिएकोमा ४४ मुद्दामा फैसला गरेका छन् भने ४२ मुद्दामा आदेश जारी गरेका छन्। मंसिरमा जोशीसहितको संयुक्त इजलासमा ७२२ पेसी तोकिएकोमा ५४ मुद्दामा आदेश र ४३ मुद्दामा फैसला भएको छ । पुसको दोस्रो साता अर्थात् १५ पुससम्म जोशीसहितको संयुक्त इजलासमा ३२७ पेसी तोकिएकोमा ४२ मुद्दामा आदेश भएको छ, ११ वटाको फैसला भएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।