प्रधानमन्त्री ओलीको इच्छामा साढे दुई अर्बको ‘भ्यु टावर’ बन्दै
काठमाडौं । सरकारले प्रधानमन्त्री केपी ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको ‘भ्यु टावर’ निर्माण गर्न लागिएको हो । सहरी विकास मन्त्रालयले दमक नगरपालिका–६ ढुकुरपानीमा अत्याधुनिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) तयार पारेको छ। टावर बनाउन दुई अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ।
भ्यु टावरसहितको पार्क बनाउन कुल २१ हजार एक सय ९७.२१ वर्गमिटर क्षेत्रफल छुट्याइएको छ। त्यसमध्ये एक हजार ३८ स्क्वायर मिटरमा ७२ मिटर अग्लो (१८ तले स्थायी भवन) भ्यु टावर निर्माण हुनेछ। त्यसमाथि २८ मिटरको स्टिल टावर राखिनेछ।
उक्त १८ तले भवनको १७औं र १८औं तलामा ‘भ्यु डेक’ रहनेछ, जहाँबाट वरिपरिको दृश्यावलोकन गर्न पाइनेछ। बेसमेन्ट पार्किङसहित भवनको भुइँतलामा ‘कमन हल’, १०औं तलासम्म कर्पोरेट अफिस तथा व्यावसायिक पसल, ११ देखि १४ तलामा सेमिनार तथा प्रदर्शनी हल, मल्टिप्लेक्स (सिनेमा हल) लगायत रहनेछन्। त्यस्तै, १५औं र १६औं तलामा रेस्टुरेन्ट तथा क्याफे रहने मन्त्रालयले जनाएको छ।
मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीकै चाहनाअनुसार ठूलो स्केल र अनावश्यक संरचना राखेर टावर बनाउन थालिएको हो। यी संरचना त्यस क्षेत्रका लागि आवश्यक छैनन्। जनताबाट उठाएको कर राजनीतिक पहुँचका आधारमा कसरी नचाहिने ठाउँमा खर्च गरिन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो। पर्यटक तान्न सामान्य खालको टावर आवश्यक भए पनि अहिले बनाउन थालिएको कर्पोरेट, सेमिनार तथा प्रदर्शनी हल, मल्टिप्लेक्सलगायत पूर्ण उपयोगमा ल्याउन कठिन हुने मन्त्रालयकै उच्च अधिकारी बताउँछन्।
विभिन्न स्थानीय तहले जथाभाबी बजेट विनियोजन गरेर भ्यु टावर निर्माणमा प्रतिस्पर्धा गरिरहेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला केन्द्र सरकारले त्यस्तै खालको परियोजनामा ठूलो रकम खर्चन लागेको छ। भ्यु टावर निर्माणको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन रहेको बताइएको छ। तर केन्द्र सरकारले व्यावसाय केन्द्रित योजनामा त्यति ठूलो रकम लगानी गर्नु उपयुक्त नभएको मन्त्रालयका उच्च अधिकारी बताउँछन्।
मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने महत्वपूर्ण पूर्वाधारलाई छाडेर सरकार व्यावसायिक कम्प्लेक्स निर्माणमा लागेको ती अधिकारी बताउँछन्। ‘व्यावसायिक कम्प्लेक्समा निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्नुको सट्टा सरकार आफैं व्यवसाय गर्न लागिपरेको छ,’ ती अधिकारीले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली नारा लिएको सरकारले अनावश्यक क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गर्नु कुनै पनि हिसाबले आवश्यक देखिँदैन।’ यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।