News

ट्याक्सीमा मिटर भाडा समायोजन 

ट्याक्सीमा मिटर भाडा समायोजन 

काठमाडौं ।  नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।

 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले हालसम्म दुई हजार २०० ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको बताए । ‘मिटर र प्रिन्टर मेसिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ’ उनले भने ।  विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ ।

 

पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा रु ५० मिटरमा उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि एक मिटरमा रु ५३ उठ्छ । यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ । 

 

नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमले ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने बताए ।  यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन् ।  

ट्याक्सी मिटर भाडा

विशेष