News

मनकारी नगरप्रमुखः आफ्नै खर्चबाट ५१ शिक्षकलाई दिँदैछन् तलब

मनकारी नगरप्रमुखः आफ्नै खर्चबाट ५१ शिक्षकलाई दिँदैछन् तलब

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौं रुपैयाँ सहयोग गरिरहेका छन् । उनले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आएका हुन् ।

 

उनले अहिलेसम्म तलबभत्ता पनि लिएका छैनन् छैन बरु सार्वजनिक कार्यक्रम, समस्यामा परेका समुदाय, शिक्षा र स्वास्थ्यको समस्या भोगेका व्यक्तिलाई सहयोग गरिरहेका छन् । ‘केही परिवर्तन गरेर देखाउँछु’ भन्ने अठोट भएका नेपालीले आफ्नै खर्चमा ४६१ परिवारलाई जस्तापाता उपलब्ध गराएका छन् । आफ्नो कार्यकालमा टहरामा बस्दै आएका नागरिकका लागि जस्तापाताको व्यवस्था गर्ने उनको योजना छ ।

 

बुर्तिवाङस्थित निसीभुजी जनता क्याम्पसलाई नगरप्रमुख नेपालीले २१ लाख सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अर्यालले बताए । नेपालीले शून्य दरबन्दीमा सञ्चालन भएका विद्यालयमा ५१ शिक्षक व्यक्तिगत खर्चमा नियुक्त गरेका छन् । उनीहरुलाई प्राथमिक तहको सरकारी शिक्षक बराबर तलब उपलब्ध गराएका छन् । कक्षा १ देखि ३ सम्मका विद्यालयलाई दुई, १ देखि ५ सम्मकालाई तीन र कक्षा १० सम्मकालाई चार शिक्षक उपलब्ध गराएका छन् । 

 

कूल डेढ सय शिक्षक आवश्यक पर्नेमा उनले एकतिहाइ शिक्षकको तलब आफैले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । नगरभित्र ४४ विद्यालय छन् । नेपालीले आर्थिक अवस्था कमजोर भएका, दलित, अपाङ्ग र एकल महिलालाई निःशुल्क यातायातको व्यवस्था गराउने घोषणा गरेका छन् । बुर्तिवाङदेखि पोखरासम्म उपचारको क्रममा यात्रा गर्न बाध्यलाई निःशुल्क सेवा दिनका लागि सबै वडाबाट लक्षित समुदायको परिचयपत्र बनाउने काम थालेको नेपालीले बताए ।

ढोरपाटन नगरपालिका देवकुमार नेपाली

विशेष