सिंचाइ मन्त्रालयका सचिव चढेको जिप एकाबिहानै त्रिशुलीमा खस्यो, सचिवसहित ३ जना बेपत्ता
धादिङ । सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेकाे जिप धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् ।
बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउने क्रममा शनिबार बिहान धादिङको बेनीघाट रोलाङ गाउँपालिका-३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
चालक घाइते छन् । उनी दुर्घटनास्थलबाट आफै बाहिर आएपछि प्रहरीहरुले उद्धार गरेका थिए । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रजिअ भण्डारीले जानकारी दिए । वेपत्ता भएका सचिव यादव लगायतको खोजी जारी रहेको भण्डारीले बताए ।