‘लालबाबु पण्डित त केपी ओलीको बँधुवा मजदुर हो’
मधेसका एमाले नेताहरुको बुद्धी छैन, दास हुन्
काठमाडौं । सातै प्रदेशमा सरकार बनाउने रस्साकस्सी छ । खासगरी प्रदेश नम्बर २ मा बन्ने सरकारलाई भिन्न दृष्टिकोणले हेरिएको छ ।
संविधान अस्विकार गर्दै आन्दोलनमा रहेका दलहरु निर्वाचनमा आएर प्रदेश २ मा आफ्नो प्रभाव जमाएको अवस्था हो ।
विद्रोही शक्तिको रुपमा चिनिएका मधेस केन्द्रित दलहरुको नेतृत्वमा सरकार बन्दैछ । अर्थात् आफ्नो प्रभाव क्षेत्रमा आफ्नै सरकार बनाउँदै छन् मधेसी दलहरु ।
मधेसी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टीका नेताहरु यसका लागि निरन्तर छलफलमा छन् ।
यही विषयको पोयो समातेर नेपालआजले राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री डा. सुरेन्द्र झासँग अन्तरवार्ता गरेको छ । ‘फोरम र राजपाका नेताहरुबीच मन्त्रालयको विषयलाई लिएर विवाद सुरु भयो नी’ भनेर डा. झालाई सुरुमै सोधिएको थियो ।
झाले विवाद भएको कुरालाई ठाडै अस्विकार गरे । यद्यपि आफूहरुबीच सौहार्दपूर्ण रुपमा छलफल भएको उनले बताए ।
पार्टीहरुबीच अन्तरसंवादबाट सरकार बन्ने कुरामा ढुक्क रहेको उनले बताएका छन् । बरु काठमाडौंबाटै आफ्नो बारेमा अनावस्यक हल्ला भलाएको उनको गुनासो थियो ।
यसबाहेक डा. झासँग अन्य राजनीतिक विषयमा पनि बहस भयो । उनले नेकपा एमाले र कांग्रेसका मधेसी नेताहरुबारे कडा टिप्पणी पनि गरेका छन् ।
एमालेविरुद्ध कडा प्रतिक्रिया
इमानदार नेताको रुपमा चिनिएका एमालेका लालबाबु पण्डितको भुमिका बारे चर्को प्रतिक्रिया दिए । उनले भने, ‘लालबाबु इमानदार हो भने त एमालेले संसदीय दलको नेता र प्रधानमन्त्री नै बनाए भयो नी !’
यस क्रममा झा उत्तेजित रुपमा एमाले नेता केपी ओलीप्रति टिप्पणी गरेका थिए । उनले ओलीलाई स्वयं भारतीय दलाल भएको आरोप लगाए ।
‘यदी यो देशमा कोही सबैभन्दा बढी भारतीय दलाल छ भने त्यो आदरणीय श्री केपी ओली ज्यू नै हो,’ उनले भने, ‘उहाँ नै हो कांग्रेस आईको मान्छे ।’
साथै केपी ओलीले गोर्खाली राष्ट्रियताको नेतृत्व गरेको उनले बताए । यसले गर्दा पनि अहिले मधेसी र गोर्खाली राष्ट्रियता आमने सामने भएको उनको धारणा छ ।
मधेसमा रहेका एमालेका नेताहरुको बुद्धी नभएको भन्दै उनले उनीहरु सधैँ आफ्नो कुरा केन्द्रमा राख्न चाहने बताए । उनले ति नेताहरुलाई ‘मालिकहरुसँग बोल्न नसक्ने दास’ को संज्ञा दिए ।
उनले थपे, ‘केपी ओलीको राष्ट्रवादको आत्मा टुकुचा खोलामा बगाएर ईन्डियन एम्बेसीमा गएर बन्देज भएको हो । त्यसपछि हे प्रभु आउनु पर्यो तपाईँ आउनु भएन भने समस्या हुन्छ, यहाँ मेरो फेश सेभिङ गरिदिनुपर्यो भनेर सुष्मा स्वराजलाई बोलाउनुभयो ।’