राजनीति भिडियो कभर स्टोरी

वैकल्पिक राजनीति भनेको भीडतन्त्र हैनः डा. सूर्यराज आचार्य (भिडियो)

वैकल्पिक राजनीतिको भविष्य बारे बहस

वैकल्पिक राजनीति भनेको भीडतन्त्र हैनः डा. सूर्यराज आचार्य (भिडियो)

काठमाडौं । छोटो अवधिमै विवेकशील साझा पार्टीले आफ्नो राजनीतिक प्रभाव जमायो । पुराना तथा बारम्बार सरकार हाँक्दैआएका राजनीतिक दलहरुको कार्यशैली र प्रबृत्तिका कारण नयाँ दल विवेकशील साझाको उदयलाई विशेष चासोका साथ हेरियो पनि ।

 

त्यसो त गएको चुनावसँगै राष्ट्रिय दल बन्ने र सरकारमा समावेश हुँदै मुलुकको आमुल परिवर्तनको नेतृत्व गर्ने यसका नेताहरुले चुनावअघि नै घोषणा गरेका थिए । तर यो पार्टी झिनो मतान्तरले राष्ट्रिय दल बन्नबाट रोकिएको छ ।

 

यद्यपि, वैकल्पिक राजनीतिको अभ्यास गर्दैआएको यस पार्टीका अघि थुप्रै चुनौती थपिएका छन् । अबको ५ वर्षसम्म सरकार र संसदबाहिर बसेर राजनीति गर्नुपर्नेछ । अर्कोतर्फ नेपाली कांग्रेस जस्तो बलियो पार्टी पनि प्रतिपक्षीको रुपमा सरकार बाहिरै रहनेछ ।

 

विवेकशील साझा पार्टीको अबको भुमिका र आकार लगायत विषयमा हामीले बहसको प्रयास गरेका छौँ । नेपालआजको स्टुडियोमा यीनै विषयमा कुराकानी गर्न विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यलाई बोलाएका थियौँ ।

 

वौद्धिक व्यक्तिको छवि बनाएका डा. आचार्यसँग विवेकशील साझा पार्टी मात्रै नभएर समग्र वैकल्पिक राजनीतिको भविष्यबारे पनि यहाँ बहस भएको छ ।

 

कांग्रेसले ओझेलमा पार्न सक्छ की ?

अन्तरवार्ताको क्रममा नेपालआजको तर्फबाट रमन पौडेलले डा. आचार्यलाई ‘अबको ५ वर्षमा अर्को बलियो प्रतिपक्षी कांग्रेसले तपाईँको पार्टीलाई ओझेलमा पार्न सक्ला नी ?’ भनेर सोधेका थिए ।

 

जवाफमा उनले भने, ‘कांग्रेस प्रतिपक्षी नै भए पनि बिगतमा यो मुलुकलाई कमजोर बनाउन उसले धेरै गल्ती गरिसकेको छ । आर्थिक रुपमा उसले गरेका कमजोरीको अहिले परिणाम हामी भोगदैछौँ । असल देखिन खोजेर मात्रै हुँदैन ।’ विवेकशील साझा पार्टी वैकल्पिक दल मात्रै नभएर वैकल्पिक राजनीति भएको डा. आचार्यको भनाइ थियो ।

 

राधेश्याम अधिकारीलाई समर्थन

राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीलाई विवेकशील साझा पार्टीले समर्थन गर्ने निर्णय गरेपछि यो पार्टीभित्र पनि ब्यापक असन्तुष्टि भयो । केही नेताहरुले नेतृत्वको आलोचना गरे ।

 

यही विषयमा पनि हामीले बहस केन्द्रित गरेका छौँ । डा. आचार्यले भने पार्टीको उक्त निर्णयलाई सापेक्षित रुपमा हेर्नुपर्ने भन्दै सही भएको बताए । धेरै सोचीबिचारी उक्त निर्णय गरेको भन्दै उनले पार्टीको उक्त निर्णयको बचाउ गरे ।

 

यसबाहेक डा. आचार्यले वैकल्पिक राजनीति भीडतन्त्र नभएको पनि बताएका छन् । भावुक भएर मात्रै राजनीति नहुने पनि उनको भनाइ थियो । कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको विषयलाई व्यवहारिक र परिपक्व भएर हेर्न सबैलाई उनको आग्रह थियो ।

 

केजरीवाल भन्दा फरक

यसअघि नै भारतमा वैकल्पिक राजनीतिको अभ्यास गरेको अरविन्द केजरीवालको आम आद्मी पार्टी पछिल्लो समय कमजोर हूँदैगयो । सरकारमा भएर पनि उल्लेख्य काम गर्न सकेन ।

 

साथै भारतीय जनता पार्टीको बलियो प्रभावका बीच आम आद्मी पार्टी कमजोर हुँदैगएको छ । वैकल्पिक राजनीतिका यस्ता थुप्रै चुनौती छन् । यसबारे पनि डा. आचार्यसँग बहस भएको छ । उनले भारतको आम आद्मी पार्टीका काजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताएका छन् ।

 

विशेष