किम जोङ उनले दिए दक्षिण कोरियालाई धन्यवाद
प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियालाई धन्यवाद दिएका छन्। शीतकालीन ओलम्पिकको उद्घाटन सत्रमा सहभागी हुन दक्षिण पुगेको आफ्नो उच्चस्तरिय प्रतिनिधिमन्डललाई आयोजकको रुपमा दक्षिण कोरियाले उत्साहजनक सम्मान दिएको भन्दै धन्यवाद दिएका हुन्।
दक्षिण कोरियाबाट आफ्नो ३ दिने भ्रमण सकाएर प्योङयाङ फर्किएको उत्तर कोरियाली टोलीले बुझाएको प्रतिवेदन बुझ्दै नेता किमले सो कुरा बताएको उत्तरी सरकारसम्बद्ध समाचार संस्था केसिएनएले जनाएको छ।
भ्रमण अवधिभर उत्तरको टोलीलाई उच्च प्राथमिकता दिएको भन्दै नेता किमले दक्षिणको प्रशंसासमेत गरेका छन्।
उत्तर कोरियाली संबैधानिक संसद प्रमुख किम योङ नाम नेतृत्वको प्रतिनिधिमन्डलमा नेता किम जोङ नामकी बहिनी तथा सत्तारुढ वोर्कर्स पार्टीको केन्द्रिय कमिटी उपनिर्देशक किम यो जोङ, खेलकुद मन्त्री तथा ओलम्पिक कमिटीका पदाधिकारीहरु लगायत थिए।
ओलम्पिकमा उत्तरको सहभागिताले कोरियाली प्रायद्धिपको सम्बन्धमा नया आयाम थपिएको बताइएको छ। तर दक्षिण कोरियाका केहि स्थानमा भने उत्तरको सहभागिता उसको प्रोपागान्डा मात्रै भएको भन्दै विरोध प्रदर्शन भएको थियो। सो क्रममा संयुक्त कोरियाली झन्डासमेत जलाइएको थियो।
यस पटकको उत्तर कोरियाली उच्चस्तरिय प्रतिनिधिमन्डलको दक्षिण भ्रमणलाई सन् १९५० मा भएको कोरियाली युद्धपछिकै सबैभन्दा माथिल्लो स्तरको मानिएको थियो।
सो क्रममा गत शनिबार मात्रै उत्तरका नेता उनले आफ्नो उच्चस्तरिय प्रतिनिधिमन्डलमार्फत दक्षिणका राष्ट्रपति इनलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका थिए। यदि दक्षिणका तर्फबाट सो भ्रमण भएमा करिब एक दशकभन्दा लामो समयमा दुई कोरियाली प्रमुखबिचको पहिलो भेट हुनेछ।
सो भ्रमण हुन सकेको खण्डमा सम्बन्ध सुधारमा कोशेढुंगा सावित हुनसक्ने बताइएको छ।
यदि उत्तर कोरियाले फेरि पनि आणविक हतियारको परिक्षणलाई निरन्तरता दिएमा सुधारिएको भनिएको कोरियली सम्बन्ध झनै चिसिने खतरा देखिन्छ।