News समाज

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी खुसी

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी खुसी

सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासालगायत क्षेत्रमा अत्यधिक हिमपात भएको छ ।

 

सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिए । उनले भने, मंगलबारदेखि हिउँ परेको छ ।” बुधबार पनि हिउँ परेको उनले बताए । हिमपातसँगै हल्का बर्सात् भएपछि जनजीवन कस्टकर बने पनि स्थानीयवासी भने हर्षित भएका छन् ।

 

लामो समयदेखि हिउँ नपरेको काँगेल क्षेत्रमा यस वर्ष हिउँ परेको छ । बुधबार दिउँसो करिब १:३० बजेदेखि करिब ४ घण्टा हिमपात भएको स्थानीयवासी राजेन्द्र बस्नेतले जानकारी दिए । उनले भने, “जन्मेको २६ वर्ष भयो हिउँ परेको थाहा थिएन, यस वर्ष हिउँ पयो, हिउँमा खेल्न पाउँदा एकदमै खुशी लागेकाे छ ।”

 

त्यस क्षेत्रमा करिब दुई फिटसम्म हिउँ झरेको बताइएको छ । हिउँ खेल्नेहरुको भीड लागेको बासाबाट भेषराज पौडेलले जानकारी दिनुभयो । उनले भन्नुभयो, “हामी विद्यालयमा थियौँ, हिउँ पर्न थाल्यो, रमाइलो भयो, यस क्षेत्रमा हिउँ खेल्नेको भीड नै लागेको छ ।”

 

जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा सामान्य बर्सात् भएको छ भने अत्यधिक चिसो महसुश गरिएको छ । पानी प्रशस्त नपरे पनि चिसो भने बढेको छ ।
(रासस)

 

विशेष