शेर्पा समुदायले आज ग्याल्बो ल्होसार मनाउँदै
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा ग्याल्बो ल्होसारको शुभकामना
काठमाडौं । नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँवर्ष) आज विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।
आफूहरुको संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुने जानकारी दिदै शेर्पा संस्कृतिविद् टीका शेर्पाले बालक जुनवर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन गरिने बताए । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयीप्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा ग्याल्बो ल्होसारको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति एवं समृद्धिको कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आज जारी गरेको सन्देशमा सिङ्गो नेपाली संस्कृति भित्रको एक महत्वपूर्ण पर्वका रुपमा रहेको ल्होसारले सबै नेपालीमा उत्साह एवं उमङ्ग बढाउँदै नेपाली बीचको एकता, सद्भाव एवं मित्रता कायम राख्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन् ।
शेर्पा समुदायले मनाउने चाडपर्व र साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको उल्लेख गर्दै उनले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनबाट विश्वसामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्न सकिने भएकाले यसतर्फ सबैको ध्यान पुग्न आवश्यक भएको सन्देशमा व्यक्त गरेकी छन् ।
यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले शेर्पा समुदायको महान चाड ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा दिदी बहिनी तथा दाजुभाइलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेभएका सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गर्दै अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको उल्लेख गरेका छन् ।
उनले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको र निर्वाचनको परिणाम अनुसार देशले नयाँ प्रधानमन्त्री पाएको उल्लेख गर्दै आज दिएको सन्देशमा भनेका छन्, ‘अबको सरकारको मूलप्राथमिकता सुखी नेपाली समृद्ध नेपाल हो । प्राकृतिक स्रोत, साधन र मानवीय स्रोतले नेपाल उन्नत ठाउँ हो । अब सरकारले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गरेर देशलाई समृद्ध बनाउने दिशातिर लाग्नेछ । देशको यो मूल प्राथमिकतामा सम्पूर्ण शेर्पा समुदायको साथ सहयोग रहनेछ भन्ने विश्वास मैले लिएको छु ।’