अस्पताल सुरक्षामा पनि प्रहरी !
काठमाडौं । प्रहरीको ड्युटी कहाँ कहाँ हुन सक्छ ? यो प्रश्नको उत्तरमा सबैले भन्लान्, अपराध बढ्न सक्ने ठाउँ वा त्यस्तै संवेदनशील ठाउँ भनेर ।
तर, अस्पतालमा पनि प्रहरी खटाइएको सुन्दा भने बडो आश्चर्य लाग्न सक्छ । त्यो पनि डाक्टरको सुरक्षाका लागि ।
कालिकोट जिल्ला अस्पतालको अवस्था अहिले यस्तै छ । कालिकोटका प्रहरीले अस्पताल क्षेत्रमा तनाव बढ्न थालेको र अस्पतालका कर्मचारी नै असुरक्षित हुन थालेको भन्दै सुरक्षा दिन थालेको छ ।
दुई महिनाअघि चन्दा शाहको प्रसूति गराउने क्रममा अपरेसनपछि उच्च रक्तश्रावका कारण ज्यान गएपछि शाहका आफन्त र केही व्यक्तिले अस्पतालको लापरवाही भन्दै अस्पताल क्षेत्रमा ढुंगामुढा गरी क्षति पुर्याएका थिए ।
अन्य त्यस्तै प्रकृतिका घटना पनि बढ्दै जान थालेपछि अस्पताल समितिले जिल्ला प्रहरीसँग सुरक्षा माग गरेको थियो ।
उपचारमा बसेका डाक्टरलाई नै घाइते बनाउने गरी, उनलाई लक्ष्य गरी ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीले अस्पताल क्षेत्रलाई प्रहरीको निगरानीमा राखेको हो । बिरामी र अस्पतालका कर्मचारीको सुरक्षालाई ध्यानमा राखी अस्पतालमा हतियारसहित प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
खबर आजको अन्नपूर्ण पोस्ट्बाट लिइएको हो ।