News समाज

बिरामीले स्नान गरेवापत लिइने शुल्कले शिक्षकलार्इ तलब

बिरामीले स्नान गरेवापत लिइने शुल्कले शिक्षकलार्इ तलब

 

बेनी, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । 

प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरेवापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो । 

समुदायको सक्रियतामा स्थापना भएको विद्यालयमा आधारभूत र माध्यामिक तहका शिक्षकलाई वार्षिक रु १६ लाख तलबमा खर्च गर्ने गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । 

‘तातोपानीको कमाइको ठूलो हिस्सा शैक्षिक क्षेत्रमा खर्च गर्ने गरिएको छ, गुणस्तरीय शिक्षाका लागि तलबबाहेक अन्य शीर्षकमा पनि खर्च गर्ने गरेका छौ’ शाक्यले भने । 

उनले सो विद्यालयमा अध्ययनरत् ३०५ जना विद्यार्थीका लागि निजी स्रोतका १० जना शिक्षकको तलब २०६६ सालदेखि निरन्तर रुपमा कुण्डको सहयोगमा खुवाउँदै आएको जानकारी दिए । 

शिक्षकको तलबबाहेक खेलकुद मैदान खरिदमा रु २३ लाख र भवन निर्माणमा समेत कुण्डले सहयोग गरेको प्रअ सुरतबहादुर बानियाँले बताउनुभयो । ‘मावि तहमा सरकारी दरबन्दी छैन, कुण्डको सहयोगले नै अहिलेसम्म विद्यालय सञ्चालन गर्न सहज भएको छ’, प्रअ बानियाँले भने । रासस 

विशेष