नेपाली नेताको उत्तर कोरिया अनुभवः यस्तो पो वास्तविकता ! (भिडियो)
'उत्तर कोरिया युद्धको लागि अमेरिकालाई सधैँ बोलाइरहेछ'
काठमाडौं । उत्तर कोरिया एक रहस्यमय मुलुक हो । यस्तो लाग्छ कि, विश्व समुदायबाटै अलग छ यो देश । ‘उत्तर कोरियाका सबै जनता भोका–नांगा छन्’ भनी प्रचार जे हुन्थ्यो, ती सबै जनतालाई भ्रम छर्ने काम रहेको भन्छन् उत्तर कोरिया घुमेर फर्केका नेपाली नेता ।
मेहन वैद्य किरण नेतृत्वको पार्टीमा रहेका नेता तथा लेखक हस्त केसीले केही अघि उत्तर कोरिया भ्रमण गरेका थिए । हालैको एक साता नेपालआजको स्टुडियोमा आएर उनले त्यहाँको समाज र व्यवस्थाबारे खुलेर ब्याख्या गरेका छन् ।
विश्वभरका जनतालाई उत्तर कोरियाबारे भ्रम फैलाउन र निराश बनाउन पश्चिमा मिडियाले भ्रम फैलाएको उनको अनुभव छ । ‘पश्चिमा साम्राज्यवादीका मिडियाले चलाएका सबै हल्ला हुन् ती । पुग्ने बित्तिकै ती सबै भ्रम रहेछन् भन्ने थाहा भयो,’ उनले भने ।
उत्तर कोरियामा समानता र आत्मसम्मान सबै जनताको रहेको उनले देखेको बताए । त्यहाँ शिक्षा, स्वास्थ्य जस्ता आधारभुत कुरा निशुल्क रहेको र समान अधिकार रहेको उनको अनुभव छ । साथै सहर र गाउँ समेत समृद्ध रहेको केसीले बताए ।
युद्धको लागि सधैँ तयार
उत्तर कोरियाका नेताको भाषणमा पनि युद्धका लागि सधैँ तयार रहेको बुझिन्छ । खासगरी अमेरिकासँग सधैँ लड्न तयार रहेको उत्तर कोरियाली नेताको भाषणमा सुनिन्छ ।
केसीले त्यहाँका अरेक चिज हेर्दा पनि संवेदनशील रहेको भान भएको बताए । उनले भने, ‘यस्तो लागछ कि, अहिले भर्खरै युद्ध हुन्छ की ।’
महिलाको अवस्था
नेपाल वा अन्य पूँजीवादी मुलुकमा महिलालाई हेर्ने दृष्टिकोण फरक छ । उत्तर कोरियामा भने महिलाको समान अवस्था रहेको देखे केसीले । उनका अनुसार त्यहाँ महिलाले पनि आत्मसम्मान महसुश गर्छन् । साथै विज्ञान प्रविधिको क्षेत्रमा महिलाको उच्च अवस्था रहेको उनले बताए ।
नेपालबारे
नेपाललाई भने उत्तर कोरियाले सधैँ मित्र राष्ट्रको रुपमा हेर्दै र व्यवहार गर्दैआएको छ । कम्युनिष्ट नेता पुष्पकमल दाहाल प्रचण्डलाई भने त्यहाँका नेताले विश्वास नगर्ने केसीले सुनाए ।
‘संसदीय व्यवस्थामा फसेपछि प्रचण्डलाई विश्वास नगर्ने रहेछन्’ उनले सुनाए । यद्यपि नेपालबारे उनीहरुसँग दुश्मनी नरहेको उनको भनाइ छ ।