करोडौं मूल्यको सम्पत्ति दान गर्दा मलाई बौलाहसमेत भने
काठमाडाैं । सामान्यतया मान्छेले कतिसम्म दान गर्न सक्छन् वा कसैलाई पैसा वा त्यस्तै सम्पत्ति कति दिन सक्लान् ? अनि आफ्नै मान्छेलाई पनि कति सम्पत्ति सहयोग वा दान दिन सक्छन् ? सय, हजार, उधारोमा हजार वा ऋणमा ब्याजसहित लाख ?
तर काठमाडौंका एक दम्पत्तिले निःस्वार्थ सेवाभाव राखी एक आँखा अस्पताललाई करौडौं मूल्य बराबरको सम्पत्ति दान गरेका छन् ।
ती वयोवृद्ध व्यक्ति हुन्– काठमाडौं कान्तिपथ निवासी ९३ वर्षीय श्रृजंग शाह र रुद्रकुमारी ।
सरकारी मूल्यांकनमा २१ करोडभन्दा बढी
सरकारी मूल्यांकनमा २१ करोडभन्दा बढी देखाइएको उक्त सम्पत्ति त्योभन्दा बढी भएको बताइएको पाइएको छ ।
शाहले तीन दशकअघि आफ्ना मातापिताले दिएको नेपालगन्जस्थित घरजग्गामा रहेको बाल अस्पताललाई उक्त सम्पत्ति दिएका हुन् ।
गीता र बाइबलले छाेयो
घर जग्गा हस्तान्तरणपछि उनले भने, ‘आफू गीता र बाइबल दुवैबाट प्रेरित भएर यस्तो कार्यमा लागेको हुँ, आखिर मरेर लानु के नै छ र बाँचुन्जेल सकेजति राम्रो काम गर्नुपर्छ । उनले थपे, ‘आफू जन्मेको देशमा केही न केही गरेर जाउँ, नत्र जन्मेको केही सार हुँदैन भन्ने जिसस क्राइस्टको भनाइले मलाई निकै छोयो ।’
देशभक्ति र जनसेवा नै सबैभन्दा ठूलो
के गर्दा देश अघि बढ्छ अनि के गर्दाचाहिँ देशभक्ति झल्किन्छ भन्ने कुराले आफूलाई निकै प्रभाव पारेकाले यस्तो निर्णय गर्न आफू राजी भएको उनले बताए ।
सुरुमा परिवारबाट खासै विरोध नगरिए पनि पछि यस्तो निर्णय गर्नुभन्दा पहिला सोच्न र सकेसम्म नगर्न पनि सबैले भनेका उनले बीबीसीसँगको अन्तर्वार्तामा बताएका छन् ।
अन्तर्वार्ताका क्रममा देशभक्ति र जनतासेवाको कुरा हरेक प्रसंगमा निकाल्ने उनले यस्तो निर्णय वर्षौंअघि गर्न खोजेको बताए पनि पारिवारिक असहमतिले गर्दा रोकिएको बताएका छन् ।
दान गर्दाको पारिवारिक झमेला
उनले वर्षदिन अघि आफ्नी छोरीसँग निकै समय सल्लाह गरेर उनको समेत सहयोगमा यो काम गरेको बताए । ‘दानपत्र नगरुन्जेलसम्म कसैले विरोध नगरेका र पछि दान दिने निर्णय अन्तिम समयमा पुग्दा वडाका मान्छे नै ल्याएर मलाई बौलाहासमेत साबित गराए,’ उनले निकै भावुक हुँदै भने, ‘छोरी–ज्वाइँ सहमत भए पनि स्थानीय अन्यको लहलहैमा लागेर उनीहरुलाई उचालेर यो काम भाँड्न पनि खोजेका थिए ।’
आफ्नो सारा सम्पत्ति र बैंक रकमसमेत रोकुवा गरी छोरीज्वाइँले आफ्नो नाममा बनाउन खोज्दा आफू अदालतसम्म जानुपरेको कुरा उनले सुनाए ।
उनले आफ्नो धेरै सम्पत्ति रहेको र सन्तानलाई पनि पर्याप्त सम्पत्ति दिएको भन्दै यो सम्पत्ति दान गरेको बताए ।
उनले पुनः देशभक्तिको भावना दोहार्याउँदै राष्ट्रले पनि जनताका लागि सहयोग गरेको र आफूले पनि मरेर जानुभन्दा अघि केही गर्न सकूँ भन्ने भावनाले यस्तो गरेको बताए ।