एशियाली बजार सुधार अाएसँगै बढ्यो तेलको भाउ
टोकियो (जापान) । सोमवार एशियाली शेयर बजारमा सुधार देखिएको छ । चीन, ताइवानलगायत केही देशमा सार्वजनिक बिदाका कारण कारोबार बन्द छ । तर, यस्तो छिटपुट कारोबारमा समेत एशियाली बजारमा वृद्धि देखिएको छ । अघिल्लो दिन अमेरिकी शेयर बजारमा देखिएको वृद्धिबाट यस क्षेत्रका लगानीकर्ता उत्साहित हुँदा यसको प्रभाव बजारमा देखिएको हो । एशियाली शेयर बजार बढेसँगै सोमवार कच्चा तेलको भाउ बढेर करीब २ हप्ताकै उच्च विन्दुमा पुगेको छ । मध्यपूर्व क्षेत्रमा तनाव बढ्ने चिन्ताले पनि उक्त दिन तेलको भाउलाई टेवा दिएको विश्लेषण गरिएको छ ।
सोमवार जापानको निक्केई २२५ परिसूचक १ दशमलव ९४ प्रतिशत बढेर २२ हजार १ सय ४९ दशमलव २१ अङ्कमा बन्द भएको थियो । सिङ्गापुरमा स्ट्रेट टाइम्स १ दशमलव २७ प्रतिशत बढेर ३ हजार ४ सय ८७ दशमलव ८८ अङ्कमा आएर बन्द हुँदा थाइल्याण्डमा सेट कम्पोजिट शून्य दशमलव २१ प्रतिशत बढी १ हजार ८ सय ९ दशमलव ६७ अङ्कमा आयो । इण्डोनेशियामा पनि जकार्ता कम्पोजिट अघिल्लो दिनको तुलनामा १ दशमलव ४६ प्रतिशत माथि आइपुगेको थियो । दक्षिण कोरियामा कोस्पी परिसूचक शून्य दशमलव ८६ प्रतिशत बढ्दै २ हजार ४ सय ४२ दशमलव ८२ अङ्कमा आइपुगेको थियो । चीन, हङकङ, ताइवानमा भने नयाँ वर्षको सार्वजनिक बिदाका कारण कैयौं दिनदेखि बजार बन्द छन् ।
इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुको अभिव्यक्तिले पनि सोमवारको कारोबारमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको हो । आइतवार जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा नेतन्याहुले इरानको कडा आलोचना गर्दै आफ्नो देशको सुरक्षालाई चुनौती दिने गरी सिरियामा अखडा बनाउने उसको योजनालाई विफल तुल्याइदिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको यो अभिव्यक्तिसँगै मध्यपूर्वमा तनाव उत्पन्न हुन्छ कि भन्ने चिन्ताले तेलको भाउ बढेको छ । सोमवार न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको भाउ प्रतिब्यारेल ७३ सेण्ट बढेर ६२ डलर ४१ सेण्ट पुगेको थियो । यो फेबु्रअरी ७ यताकै उच्च विन्दुनजिक हो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ६ बजे अमेरिकी बेञ्चमार्कको भाउ प्रतिब्यारेल ६२ डलर २४ सेण्टमा किनबेच भइरहेको थियो ।
सोही दिन लण्डनस्थित आईसीई फ्युचर्सको कोमेक्स डिभिजनमा पनि ब्रेण्ट क्रुडको भाउ प्रतिब्यारेल ५२ सेण्टको वृद्धिसहित ६५ डलर ३६ सेण्टसम्म पुगेको थियो । यो समाचार तयार पार्दासम्म ब्रेण्ट क्रुड प्रतिब्यारेल ६५ डलर २४ सेण्टमा आएको थियो । ‘एशियाली शेयर बजारको वृद्धिका कारण तेलको भाउले टेवा पाएको हो, तर अमेरिकी रिग काउण्टमा भएको वृद्धि र डलरको भाउमा आएको सुधारले पनि बजार दबाबमा आउन थालेको छ,’ टोकियोस्थित इमोरी क्यापिटल म्यानेजमेण्टका सीईओ टेत्सु इमोरीले भने । एजेन्सी