फोरमले सरकारमा सहभागी हुने इच्छा देखायाे, मन्त्रालयको भागवण्डा अझैं लम्बियो
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डा नटुङ्गिदा सरकार विस्तार हुन सकेको छैन ।
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको छलफलले मन्त्रालय भागवण्डा गर्ने बताइएको थियो । तर, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि सरकारमा सहभागी हुने इच्छा देखाएपछि भागवण्डा प्रक्रिया लम्बिएको हो ।
फोरम अध्यक्ष यादव गत सोमबार एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठकमा एक घण्टा सहभागी समेत भएका थिए ।
माओवादी केन्द्रका नेता दीनानाथ शर्माले मन्त्रालय थपघट हुन सक्ने भन्दै भागवण्डामा ढिलाई भएको बताए । "अहिले हामीसँग २५ वटा मन्त्रालय छन् । त्यसलाई घटाएर १६/१७ वटा बनाउने भन्ने कुरा छ । त्यसैले भागवण्डामा अलिकति ढिलाई भएको हो, "शर्माले भने ।
उनले दुई अध्यक्षले मात्र मन्त्रालय भागवण्डा गर्न नमिल्ने भन्दै तल्लो तहका नेताहरुसँग पनि छलफल गर्ने बताए । नेता शर्माले भोलिसम्ममा मन्त्रालय भागवण्डा टुङ्गिएर सरकार विस्तार हुने दावी समेत गरे । मन्त्रालय टुङ्गिएपछि मन्त्री टुङगिनछन्, "शर्माले अगाडि भने, " माओवादीको तर्फबाट को-को सरकारमा जाने भन्ने अझै निर्णय भइसकेको छैन ।"
माओवादी केन्द्रकी नेतृ एवं प्रवक्ता पम्फा भुसालले पनि मन्त्रालयको भागवण्डा टुंगिएलगत्तै पार्टीले योग्य र सक्षम व्यक्तिलाई छानेर सरकारमा पठाउने बताइन् ।