News खेल

प्रधानमन्त्री कप: सुदुरपश्चिम र एपीएफको विजयी सुरुवात

प्रधानमन्त्री कप: सुदुरपश्चिम र एपीएफको विजयी सुरुवात

धनगढी । धनगढीमा सुरु प्रधानमन्त्री कप महिला टि – ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदुर पश्चिमाञ्चल विकास क्षेत्र र विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लबले विजय सुरुवात गरेका छन् । बुधबार भएको उद्धघाटन खेलमा सुदुरपश्चिमले पश्चिमाञ्चल विकास क्षेत्र र एपीएफले मध्य पश्चिमाञ्चललाई हराउदै विजय सुरुवात गरेको हो ।


धनगढीस्थी फाप्ला क्रिकेट मैदानमा भएको उद्धघाटन खेलमा सुदुरपश्चिमले पश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्यो । पश्चिमाञ्चलले दिएको ७४ रनको लक्ष्य सुदुरपश्चिमले १७ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमका लागि विमला भट्टले १८ र कप्तान मञ्जु वोगटीले १२ रन बनाइन् । पश्चिमाञ्चलकी सरस्वती पुनले ३ विकेट लिईन् । खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच सुदुरपश्चिमकी लक्ष्मी साउँद भईन् ।


यसअघि टस जितेर ब्याटिङ गरेको पश्चिमाञ्चलले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा ७३ रन बनाएको थियो । पश्चिमाञ्चलका लागी बर्षा रानाले १४ र सरस्वती पुनले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुदुरपश्चिमकी लक्ष्मी साउदले ३ तथा कविता जोशीले २ विकेट लिईन् ।


प्रतियोगिता अन्तर्गत नै बुधबार भएको दोस्रो खेलमा एपीएफले मध्य पश्चिमाञ्चललाई १० विकेटले हरायो । मध्ये पश्चिमाञ्चलले दिएको ३७ रनको झिनो लक्ष्य एपीएफले ४ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो । एपीएफलाई जित दिलाउन ओपनर ज्योती पाण्डेले १७ तथा सिता राना मगरले १२ रनको योगदान दिईन् । खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच एपिएफकी रितु कनौजीया भईन् ।


त्यसअघि टस जितेर व्याटिङ गरेको मध्य पश्चिमाञ्चलले १८ ओभर ४ बलमा अलआउट हुँदै ३६ रन जोडेको थियो । मध्ये पश्चिमाञ्चलका गिता गोसाईले १५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

विशेष