कान्तिपुर समाचार काण्ड: पराजुली विरुद्धको समाचारमा पराजुलीकै इजलास
काठमाडाैं । सरकारी कागजातमै प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति भन्ने शिर्षकको समाचारले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा परेको मुद्दा बिहिबार पेशीमा चढेको छ।
उक्त मुद्दाको पेशी प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै इजलासमा तोकेका छन्। सर्वोच्च अदालतको पेशी प्रधानन्यायाधीशले नै तोक्ने गर्छन् ।
अधिवक्ता तोयानाथ ढुंगानाले प्रधानन्यायाधीश विरुद्ध समाचार लेखेर कान्तिपुरले अदालतकै अवहेलना गरेको भन्दै बुधवार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
माघ २७ गते कान्तिपुरले प्रधानन्यायाधीशका चार जन्ममिति शिर्षकमा समाचार छापेको थियो। त्यस्को केहि दिनमै पराजुलीका नागरिकतामै ३ वटा जन्म मिति भएको भन्दै समाचार छापेको थियो। प्रधानन्यायाधीश पराजुलीका विवादित जन्ममिति, प्रमाणपत्र र नागरिकताबारे कान्तिपुरले समाचार लेख्दै आएको छ।
यी सबै समाचार झूटो भएको र यीनले अदालतको अवहेलना गरेको भन्दै ढुंगानाले कान्तिपुर पब्लिकेशन, कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया, प्रवन्ध निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने संवाददाता कृष्ण ज्ञावली विरुद्ध मुद्दा हालेका हुन्।