News स्वास्थ्य

धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर

धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर

काठमाडाैँ । पर्यटक भिसामा नेपाल छिरेर मेडिकल काउन्सिलबाट अनुमति नलिई खोलिएका अस्पतालमा कार्यरत नक्कली चिनियाँ डाक्टर साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत, काठमाडौंको आदेशमा चुच्चेपाटीको चाइना ग्रेटवाल हेल्थ सेन्टर, बौद्धमा कार्यरत चिनियाँ डाक्टर लङ युहाउ साधारण तारेखमा छुटेका हुन् ।

 

अदालतले सोही अस्पतालमा कार्यरत लङ गउ योङलाई भने पुर्पक्षका लागि थुना पठाएको छ । सञ्चालक नारायण तिमल्सेना भने ५ लाख धरौटी बुझाएर छुटेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले माघ १६ गते नेपाल मेडिकल काउन्सिलसँगको समन्वयमा विभिन्न अस्पताल र स्वास्थ्य संस्थासँग मिलेमतो गर्दै स्वास्थ्य उपचारमा संलग्न नक्कली डाक्टरहरूलाई पक्राउ गरेको थियो ।

 

ब्युरोले काठमाडौंका ५ अस्पतालमा छापा मारी १३ चिनियाँ, १ अस्ट्रेलियन र ३ नेपाली सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाएको थियो । ब्युरोले झूटा विज्ञापन गर्दै चिकित्सा विज्ञान नै नपढेका डाक्टर उपचारमा संलग्न रहेको र सर्वसाधारण झुक्याउने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको थियो ।

 

प्रहरी बयानका क्रममा पक्राउ परेका चिनियाँहरूले आफूहरू अस्पतालमा प्रयोग हुने मेसिनहरूको मेकानिक्स मात्रै रहेको र डाक्टर नरहेको बताएका थिए । तर ब्युरोले छापा मार्दा भने उनीहरू चिकित्सकीय अभ्यासमै संलग्न थिए । जिल्ला अदालतले ठमेलको अपोलो इन्टरनेसनल पोलिक्लिनिक बाहेकका अस्पताल सम्बद्ध मुद्दामाथि आदेश दिइसकेको छ ।

 

जिल्ला अदालतले बौद्धको चाइना पिपल्स अस्पतालमा कार्यरत चु जाईलाई २ लाख रुपैयाँ धरौटी र वङ भिमोलुलाई डेढ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइसकेको छ । बौद्धकै चाइनिज डेन्टल अस्पतालका योङ काङसिटी भने ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।  यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

विशेष