प्रहरी निरीक्षकको नतिजा सम्बन्धी रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं । सर्वोच्च अदालतले प्रहरी प्रधान कार्यालयले लोकसेवा आयोगले पठाएको लिखित परीक्षाको नतिजा लुकाएर अर्को नतिजा प्रकाशित गरेको भन्दै परेको रिट खारेज गरेको छ ।
प्रहरी निरीक्षकको लिखित परीक्षामा लोकसेवा आयोगले पठाएको नतिजालाई लुकाएर प्रहरी प्रधान कार्यालयले छुट्टै नतिजा प्रकाशित गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । शुक्रबार (आज) न्यायाधिश चोलेन्द्रशमशेर राणा र हरिकृष्ण कार्कीको संयुक्त इजलाशले तीन जना प्रतिस्पर्धीले दायर गरेको रिट खारेज गरेको हो ।
परीक्षाका प्रतिस्पर्धीहरु द्वारिकाधिश घिमिरे, सन्देशमणि सापकोटा र सरोज कार्कीले प्रहरी प्रधान कार्यालयले लोकसेवा आयोगको नतिजाभन्दा फरक नतिजा सार्वजनिक गरेको भन्दै रिट दायर गरेका थिए ।
आयोगले प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षामा सफल भएकाहरुलाई गत कात्तिक २४ देखि २७ सम्मको परीक्षामा सामेल गरेको थियो । यसअघि सर्वोच्चले विपक्षीहरुलाई छलफलका लागि बोलाएको थियो । तीनैजनाले फागुन ९ गते रिट दायर गरेका थिए ।
प्रतिस्पर्धीले दायर गरेको रिटमा उच्च अधिकारी र पहुँचवालाका आफन्तलाई ‘घुसाउन’ छुट्टै नतिजा प्रकाशन गरिएको दाबी गरेका थिए । लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा माघ २२ गते प्रहरी प्रधान कार्यालयले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो ।