News मुख्य समाचार

मधेसी सरकारलाई एमालेको समर्थन : प्रतिपक्ष बन्यो कांग्रेस

मधेसी सरकारलाई एमालेको समर्थन : प्रतिपक्ष बन्यो कांग्रेस

जनकपुरधाम । प्रदेश २ मा संघीय फोरमका संसदीय दलका नेता मो. लालबाबु राउत नेतृत्वको सरकारलाई प्रमुख प्रतिपक्षी दल एमालेले समर्थन दिएको छ । एमाले, माओवादीसहित दलको समर्थनसँगै सरकारको पक्षमा दुईतिहाईभन्दा बढी मत प्राप्त भएको छ ।

 

विधानको धारा १६८ को २ बमोजिम फोरम र राजपा गठबन्धनको सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा प्रदेशसभा बैठकबाट गरिएको हो । चौथो ठूलो दल कांग्रेसले भने सरकारको प्रतिपक्षमा मतदान गरेको छ । फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत सिद्ध गर्नुपर्ने थिए ।

 

बैठकमा प्रमुख विपक्षी एमाले, माओवादी, संघीय समाजवादी पार्टी र स्वतन्त्र सांसद शेष मोहम्मद अब्दुलले पक्षमा मतदान गरेका थिए। प्रदेशसभाका १ सय ७ सांसदमध्ये बैठकमा उपस्थित एक सय सांसद मतदानमा सहभागी थिए। सभामुख तटस्थ बसेका थिए भने ६ सदस्य अनुपस्थित भए।

 

बहुमतसिद्ध गर्नका लागि सरकारलाई ५४ मत आवश्यक थियो । तर सरकारको पक्षमा ८२ मत आयो भने विपक्षमा कांग्रेसका १८ सांसदले मतदान गरे । कांग्रेसका १९ सदस्य भए पनि पर्साबाट निर्वाचित ओमप्रकाश शर्मा अनुपस्थित भएका थिए।

 

प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्दै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धि, विकास र उन्नतिका लागि पक्ष -विपक्ष छाडेर एकजुट हुन आग्रह गरेका थिए ।

 

‘म राजनीतिमा नयाँ छु, राज्य सञ्चालनको तालिम पाएको छैन, पारिवारिक पृष्ठभूमि पनि राजनीतिक छैन’, बैठकमा उनले भने, ‘त्यसैले प्रदेश सरकारलाई सक्षम बनाउन तपाईंहरू सबैको सहयोगको अपेक्षा गर्छु।’ याे खबर अन्नपूर्ण पोस्टमा छ ।

विशेष