तीन महिलालाई दिल्ली लैजादैँ गरेका एक भारतीय नागरिक पक्राउ
झापा । प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गरेका एक भारतीय नागरिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका २५ वर्षीय मुख्तार आलम पक्राउ परेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालले जानकारी दिए ।
झापा बजार हुँदै भारतको दीघल बैंकतर्फ लैजाँदै गरेको देखेपछि शंका लागेर ती महिलालाई सोधपुछ गर्दा दिल्ली जान लागेको थाहा पाएपछि प्रहरीले उनीहरुको उद्धार गरेको हो ।
उद्धार गरिएका महिलालाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय झापामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले जानकारी दिए । रासस