पाँच सय स्वयंसेवक राष्ट्रिय मान्यताबाट बञ्चित
ललितपुर । ललितपुर महानगरापलिकामा कार्यरत झण्डै ५०० स्वयंसेवक राष्ट्रिय मान्यताबाट बञ्चित भएका छन् । राष्ट्रिय मान्यता नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको सामान्य सुविधाबाट समेत आफूहरु वञ्चित हुनुपरेको उनीहरुले बताएका छन् ।
ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरपालिकामा तीन दशकभन्दा बढी समयसम्म काम गर्नेले समेत राष्ट्रिय मान्यता नपाएको बताउनुभयो । उनले भने, ‘सरकारले दिएको जिम्मा पूरा गर्दागर्दै पनि हामीलाई मान्यता दिइएको छैन ।’
महानगरपालिकामा अहिले झण्डै ६०० स्वयंसेवक कार्यरत छन् । तीमध्ये १३३ जनाले मात्रै मान्यता पाएका छन् । जिल्लामा १०० पुरुष स्वयंसेवक कार्यरत छन् । उनीहरु कसैले पनि मान्यता पाएका छैनन् । कार्की भने, ‘सरकारको स्वास्थ्य कार्यक्रम सफल बनाउन जनताको घरघरमा पुग्ने स्वयंसेवकलाई बेवास्ता भइरहेको छ ।’
राष्ट्रिय मान्यता पाएका स्वयंसेवकले सरकारबाट प्रोत्साहनका रुपमा वार्षिक र लुगा र सेवानिवृत्ति भत्ता र उपचार खर्च पाउँछन् । राष्ट्रिय मान्यता नपाएका स्वयंसेवक ती सुविधाबाट वञ्चित छन् । सरकारबाट विभेद भए पनि गर्दै आएको काम नछाड्ने स्वयंसेवक बताउँछन् ।
उपमहानगरपालिका हुँदादेखि नै सञ्जालले स्वयंसेवकलाई मान्यता दिलाउनका लागि भन्दै आएको कार्की बताए । उनले भने, “जनप्रतिनिधि आएकाले अब हाम्रा कुरा सुनिने आशा छ ।” यहाँ कार्यरत स्वयंसेवकले झण्डै चार वर्षदेखि तालीमसमेत पाएका छैनन् । रासस