प्रदेश पाँच–सबै मन्त्रालय र मन्त्री निवासको टुंगो लाग्यो
बुटवल । प्रदेश पाँचका सबैमन्त्री, सभामुख, उपसभामुखको कार्यालय र निवासको टुंगो लागेको छ । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार शुक्रबार सामाजिक विकास मन्त्रालयलाई नया बसपार्कभित्र बनेको नयाँ भवनमा राखेसँगै मन्त्रालयको कार्यालय व्यवस्थापनको मुख्य काम सकिएको छ ।
प्रदेश पाँचमा बुटवलको दरबार मार्गमा रहेको श्रम कार्यालयमा धेरै जसो मन्त्रालय राखिएको छ ।
प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले निवासको टुंगो र तयारी पनि भएको जानकारी गराए । धेरै जसो मन्त्रालय श्रम कार्यालयकै भवनमा राखिएका छन् । यहा हाल मुख्यमन्त्रीको कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय राखिएका छन् ।
त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई भूमिगत जलस्रोत विकास समितिको कार्यालय रहेको भवनमा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई यातायात व्यवस्था कार्यालयको भवनमा राखिएको छ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई राजस्व अनुसन्धानको पश्चिमाञ्चल कार्यालय रहेको भवन निवासका रुपमा उपलब्ध गराइएको छ । उनी सोही भवनलाई निवासका रुपमा प्रयोगमा ल्याइसकेका छन् ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, उपसभामुखसहित अब चयन हुने मन्त्री लागि सिद्धार्थनगर पालिका अञ्चलपुरमा रहेको भूमिगत जल परियोजना (भैलोभुजा ) मा व्यवस्था गरिएको छ । त्यस्तै प्रदेश पाँचको सभामुखमा पूर्ण घर्ती सिप विकास केन्द्रको भवनमा राखिने गरी तयारी भएको छ ।