धरानमा सडक किनारमा फूल रोपिदै
इटहरी । धरान उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको सडक किनारमा फूल रोप्न सुरु गरेको छ ।
धरानको भानुचोकदेखि छाताचोकसम्म सडकको दुवै किनारमा फूल रोप्न सुरु गरेको मेयर तारा सुब्बाले बताए ।
उपमहानगरपालिकाले धरानलाई फूलबारीको शहरको रुपमा विकास गर्ने नीति नै बनाएको भन्दै उनले नगरबासीलाई घर अगाडिको सडकमा फूल रोप्न आग्रह गरे ।
२ महिनाभित्रमा फूल रोपेर सक्ने धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताए ।
पहिलो चरणमा धरान बजार क्षेत्रका ९ सय ७० मिटर सडकका दुवै किनारमा फूल रोपिने छ । उपमहानगरपालिकाले फूल रोप्न स्टिलको रेलिङसहितको स्टेन प्रयोग गरेको छ ।
धरान उपमहानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले रेलिङ र फूल रोप्ने कार्यका लागि ४६ लाख ७० हजार रुपैयाँको स्टिमेट आएको र थि्रडी नक्सासहित कार्यक्रम अगाडि बढिसकेको बताए ।