बलिउड अभिनेत्री श्रीदेवीकाे निधन
काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको शनिबार राति दुबईमा निधन भएको हो । फिल्मी क्षेत्रका बाहिरका कैयाैं व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् ।
कतिले त उनकाे निधन अाश्चर्य भएकाे समेत बताएका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । कलिलै उमेरदेखि नै बलिउडमा छिरेकी उनले चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा अभिनय गरेकी थिइन् ।
उनले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा पनि अभिनय गरिन् । दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् ।
८० को दशक हिन्दी फिल्ममा हिरोइनको हिसाबमा श्रीदेवीको दशक नै बन्यो । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् । जसका कारण उनलाई ‘लेडी अमिताभ बच्चन’ भन्न थालियो ।
जितेन्द्र र श्रीदेवी मिलेर हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता सुपरहिट फिल्म दर्शकमाझ ल्याएका थिए । सन् १९९७ मा फिल्म ‘जुदाई’ पछि श्रीदेवी १५ वर्षका लागि फिल्मबाट बाहिर रहिन् । तर, सन् २०१२ मा इङ्लिस भिङ्लिस फिल्मबाट बलिउडमा कम ब्याक गरेकी थिइन् ।
यो फिल्म पनि सुपरहिट भएकाे थियाे । सन् २०१७ माा श्रीदवेको फिल्म ‘मम’ रिलिज भएको थियो । श्रीदेवीले फिल्ममा लामो समय काम गरिन् र ‘मम’ उनको ३ सयाैं फिल्म थियो ।