News समाज

स्वतन्त्रता सेनानी उपाध्यायको निधन

स्वतन्त्रता सेनानी उपाध्यायको निधन

दाङ । स्वतन्त्रता सेनानी तथा शिक्षाप्रेमी ईश्वरीप्रसाद उपाध्यायको ९३ वर्षका उमेरमा सोमबार निधन भएको छ । तुलसीपुर–१२, कचिला निवासी उपाध्याय काँग्रेसका पुराना निष्ठावान् नेता थिए । उपाध्यायले पञ्चायतकालमा १८ वर्षसम्म साविक उरहरी गाविसको प्रधानपञ्च भएर सामाजिक विकासमा महत्वपूर्ण योगदान गरेका थिए ।

 

वनगाउँस्थित माध्यमिक विद्यालयलाई १८ बिघा जग्गादान गरेर त्यस भेगको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उपाध्यायले उरहरी मावि तथा बालमितेरी मावि भोजपुरको स्थापनामा अग्रणी भूमिका निर्वाह गरेका थिए । स्व.उपाध्यायका चार छोरा र एक छोरी रहेका छन् ।

 

उनको आज शीतलपुरस्थित घाटमा अन्तिम संस्कार गरिनेछ । उपाध्यायको निधनप्रति काँग्रेसले दुःख व्यक्त गरेको छ । पार्टी सभापति कीर्तिबहादुर खड्काले विज्ञप्ति जारी गरी काँग्रेसले एक निष्ठावान् धरोहर गुमाएको जनाएका छन् ।

विशेष