भारतकाे हरियाणामा १२ वर्षभन्दा कम उमेरकी बालिकामाथि बलात्कार भए फाँसी
एजेन्सी । भारतकाे हरियाणा सरकारले १२ वर्षभन्दा कम उमेरकी बालिकामाथि हुने बलात्कारजन्य अपराधको सजायस्वरुप फाँसीजस्तो कठोर कानुन ल्याएको छ ।
बालिकामाथि हुने यस्ता अपराधजन्य प्रवृत्तिलाई जरैदेखि उखेल्न यस्तो कानुन ल्याइएको त्यहाँको सरकारले बताएको छ ।
यस्तो कठोर कानुनको प्रस्तावमा हिजो त्यहाँको संसदले लालमोहर लगाएको थियो । अब उक्त प्रदेशमा हुने यस्ता खालका घटनामा संलग्नलाई अवस्था हेरेर १४ वर्षसम्म जेल सजाय या फाँसी दिइने छ ।
बलात्कारसम्बन्धी अन्य विविध कानुनमाथि बहस गरी त्यसलाई संशोधन गर्दै हरियाणा सरकारले यस्तो व्यवस्था गरेको हो । राज्यमा पछिल्लो समय बलात्कारका घटना निकै बढ्दै गएपछि कानुन संशोधन गर्न जनताले निकै दबाब दिएका थिए ।
साथै अब सामूहिक बलात्कारजन्य अपराधमा संलग्न हुनेलाई समेत २० वर्ष जेल सजाय हुने गरी कानुन संशोधन गरिएको त्यहाँको सरकारले बताएको छ ।
हरियाणामा पछिल्लो ५ वर्षयता १२ वर्षभन्दा कम उमेरका ३ सय ७७ बालिकामाथि बलात्कार भएको थियो । यस्तो खालको कानुन यसअघि मध्यप्रदेशले पनि ल्याइसकेको छ ।
हरियाणा तथा भारतीय सञ्चारमाध्यमा कानुन संशोधनको खुलेर स्वागत गरिएको छ ।