दोस्रो पञ्चदेवल महोत्सवको तयारी तिब्र, फागुन १८ गते प्रचण्डले उद्घाटन गर्ने
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकामा आयोजना गरीने दोस्रो पञ्चदेवल महोत्सव २०७४ को तयारी तिब्र पारिएको छ । स्थानीय उत्पादन, साहित्य, संस्कृति, शिक्षा र पर्यटन विकासका लागि दोस्रो पञ्चदेवल महोत्सव २०७४ भन्ने मुल नाराका साथ यहि फागुन १८ देखी शुरू हुन लागेको महोत्सवको सबै कामहरु सकाएर तयारी तिब्र पारिएको हो ।
महोत्सवमा छाउपडी कुप्रथा निर्मुल पारौं, सभ्य समाजको निमार्ण गरौं भनेर नारा पनि राखिएको छ । पछिल्लो समय महिला हिसांको कारक तत्वका रुपमा रहेको छाउपडी कुप्रथा न्यूनिकरणमा टेवा पुग्ने अपेक्षासहित सञ्चालन हुन लागेको महोत्सव स्थलमा मञ्च व्यवस्थापन देखि, स्टल निर्माणसम्मका तयारीहरू अन्तिम चरणमा पुगेका छन् ।
यसका साथै महोत्सवका लागि प्रचारप्रसार कार्यलाई समेत तिब्र पारिएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । यसअघि नै आयोजकले मुख्य प्रायोजक, प्रायोजकहरु र अन्य साझेदारहरुसंग समन्वय तथा परामर्श गरी सकेको थियो ।
महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्ला भित्र र बाहिर रहेका विभिन्न निकायहरुसँग समन्व्य तथा छलफल गर्ने, प्रचार प्रसारकाका आवश्यक सामाग्री पोष्ट पम्पलेट र ब्रोसरहरु छाप्ने, महोत्सवमा आन्त्रण गर्ने व्यक्तिहरुसँगको सहकार्य गर्ने जस्ता कामहरु सकिसकेको महोत्सव मुल आयोजक समितिका सदस्य सचिव रमेश रावतले बताए ।
साथै उनले महोत्वलाई मनोरञ्जननात्मक मात्रै नबनाई सन्देश मुलक बनाउनका लागि आफुहरु दिनरात नभनि लागिरहेको बताए । महोत्सव स्थलमा अछाम जिल्लामा उत्पादन गरीने विभिन्न सामाग्री सहितका स्टलहरु पनि राखिने छन् भने जिल्लाको चिनारीका रुपमा रहेका कला संस्कृतिहरुलाई प्रदर्शन गरिने भएको छ । महोत्सवले पञ्चदेवल, स्थानीय उत्पादन, साहित्य, संस्कृति शिक्षा र पर्यटन विकास गर्नमा टेवा पुग्ने अपेक्षा आयोजकको छ । महोत्सवको फागुन १८ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यतालिका तय भएको छ ।
फागुन २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कला, संस्कृति तथा झाक्री, देउडा, न्याउले,पारुनी पञ्चेवाजा,होरी भूवा खेल, गजल, प्रस्तुतीका साथै राष्ट्रिय कलाकारहको प्रस्तुती रहने छ । यसका साथै महोत्सवमा विभिन्न क्षेत्रको आलोकन, स्वास्थ्य शिविर संचालन गर्ने जस्ता कामहरु पनि रहेको आयोजक समितिका अध्यक्ष टंक बहादुर धामीले बताए । महोत्सवबाट संकलित रकम बाट बिनायकस्थित पञ्चदेवल क्याम्पस सञ्चालन गरिने महोत्सव मुल आयोजक समितिले बताएको छ।