विचित्र विश्व News

युवतीहरुले किन रोज्दैछन् भाडाको बेहुला ?

युवतीहरुले किन रोज्दैछन् भाडाको बेहुला ?

भियतनामी युवतीहरुले भाडाका बेहुलासँग बिहे गरिरहेका छन् । यस्ता बिहेमा युवतीहरुले लाखौँ खर्चिएर पाहुना तथा जन्तीहरु पनि बोलाउने गर्दछन् ।

भियतनाममा यस्ता नक्कली बिहे गराउने धन्दामा कैयन् कम्पनीहरु नै खुलेका छन् । करोडौँको यो धन्दा निकै फस्टाएको छ । जहाँ बेहुलाले आफन्त तथा पाहुनाहरुको उपस्थितिको हिसाबले शुल्क लिन्छन् ।


भाडामा बेहुला उपलब्ध गराउने कम्पनीले एक बेहुलाका लागि झण्डै डेढ लाख रुपैयाँ बराबरको शुल्क लिने गर्दछ । यदि बेहुलासँगै उसका आफन्त तथा जन्तीहरु समेत चाहिएको भए झण्डै साढे ६ लाख रुपैयाँको हाराहारीमा रकम चुक्ता गर्नुपर्दछ । २० देखि ४ सय जनासम्म पाहुनाको बन्दोवस्त कम्पनीले गर्न सक्दछ । जति धेरै पाहुना आउँछन् उति नै धेरै रकम खर्च गर्नुपर्दछ ।

 

लाखौँ खर्चिएर विवाहित बेहुला

यसरी लाखौँ खर्चिएर भाडामा लिने बेहुला पनि कुमार चाहिँ हुँदैनन् । भाडामा उपलब्ध गराइने बेहुलाहरु पहिले नै विवाहित हुन्छन् । अविवाहित युवतीहरुले केवल नक्कली बिहेका लागि त्यस्ता घरबारे बेहुलाहरुलाई भाडामा लिएका हुन्छन् ।

विवाह पूरै नक्कली हुन्छ र केवल समाजलाई देखाउनका लागि मात्र गरिएको हुन्छ । यसरी बिहे गरिसकेपछि समाजमा केटीहरुको प्रतिष्ठा बच्ने विश्वास गरिन्छ ।

 

कुमारी आमाको कलंक

भियतनामी समाजमा कुमारी आमा अर्थात् बिहे अघि नै बच्चा जन्माउनुलाई कलंक मानिन्छ । त्यसका बाबजुत धेरै आधुनिक युवतीहरु एकल अभिभावक बन्न रुचाउने गरेका छन् । उनीहरु बच्चा त चाहन्छन् तर पति चाहँदैनन् । यसलाई समाजले भने पचाउँदैन ।

 

यस्तोमा आफ्नो प्रतिष्ठा जोगाउनका लागि उनीहरुले यस्तो नक्कली बिहेको सहारा लिने गरेको बताइन्छ । यसबाट उनीहरुले बिहे गरेको भनी समाजको आँखामा छारो हाल्दछन् र सहमतिमै कुनै पुरुषसँग समागम गरी गर्भवती बनेर आमा बन्दछन् ।

एजेन्सी

विशेष