एक हातले सडक निर्माण
विषालु सर्पले टोकेपछि धरान उपमहानगरपालिका १५ का ४५ वर्षीय शम्भु गहतराजले ३० वर्षअघि आफ्नो बायाँ हात गुमाए ।
उपचारका लागि बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका लागि जाँदा उनलाई डाक्टले हात नै काटेर फाल्नुपर्ने सल्लाह दिए । डाक्टरको सल्लाहअनुरुप उनको हात काटियो ।
काम गरेर खाने हातै गुमाएपछि उनलाई धेरै समय निकै अफ्ठ्यारो भयो । मागेर पेट पाल्नेभन्दा पनि उनी केही गरेरै खान्छु भन्ने सोच बनाउन थाले र कामको सहारामा हिँडे । अनि काम गर्न एउटै हातलाई अभ्यस्त बनाउन लागिपरिरहे ।
अहिले उनी धरानका विभिन्न सडकमा मजदुरी गरिरहेका भेटिन्छन् । उनको आर्थिक अवस्था निकै कमजोर छ, त्यसमाथि पत्नी पनि अशक्त छिन् ।
एउटै हातको सहारामा उनी अहिले सडकमा दैनिक मजदुरी गरी छाक टारिरहेका छन् ।
सुरुमा निकै अफ्ठ्यारो भए पनि अहिले त त्यस्तो लाग्न छोडेको बताउने उनी भन्छन्, ‘मैले एउटा हातले गर्ने काममा अभ्यस्त हुन थालिसकें ।’
सरकारी तवरबाट कानुन बमोजिम अशक्तले पाउने भक्ताका लागि आफूले पहल गर्दा पनि उनले कसैले सहयोग नगरेको गुनासो गर्ने गरेका छन् । भन्छन्, ‘आश्वासनमात्र पाइँदो रहेछ काम गरिदिँदैनन् ।’