विदेश

निर्वासनमा रहेका नशीद माल्दिभ्सको राष्ट्रपतिको उम्मेदवार बन्ने

निर्वासनमा रहेका नशीद माल्दिभ्सको राष्ट्रपतिको उम्मेदवार बन्ने

कोलोम्बो - निर्वासनमा रहेका माल्दिभ्सका पूर्व राष्ट्रपति तथा प्रतिपक्षी दलका नेता मोहम्मद नशीदले आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।

 

कोलोम्बोमा निर्वासित जीवन बिताईरहेका नेता नशीदमाथि लागेको फौजदारी अभियोगलाई मालेस्थित सर्वोच्च अदालतले राजनीतिक उद्देश्यबाट प्रेरित भन्दै बिहीबार उल्टाइदिएपछि उनले आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

 

अदालतले सोहि आरोपमा जेलमा रहेका अन्य नेता कार्यकर्ताहरुलाई पनि तत्काल रिहा गर्न सरकारलाई आदेश दिएको छ।

 

'म प्रतिस्पर्धा गर्नसक्छु र पतिस्पर्धामा उत्रिनेछु', मालदिभ्सको प्रजातान्त्रिक निर्वाचनबाट निर्वाचित पहिलो राष्ट्रपतिले भने। नसीदले निर्वाचनलाई समावेशी, स्वच्छ तथा निश्पक्ष बनाउनका लागि पूर्ण अन्तर्राष्ट्रिय पर्यवेक्षणका उचित कार्यक्रम ल्याउनुपर्ने तर्क गरे।

 

नसीदलाई सन् २०१५ को विवादास्पद निर्णयमार्फत दोषी ठहराउँदै कुनै पनि निर्वाचनमा सहभागी हुन पाउने अधिकारबाट वञ्चित गरिएको थियो। उनीमाथि राजनीतिक उद्देश्यबाट अभिप्रेरित भई आतङ्कवादलाई सघाएको आरोप लगाइएको थियो। तर उक्त निर्णयको देशभित्र तथा बाहिरसमेत सर्वत्र आलोचना गरिएको थियो।

 

नसीदले सरकारलाई अदालतको पछिल्लो निर्णयको सम्मान गर्दै सरकारको आलोचना गरेका आरोपमा जेल पठाइएका नौ प्रतिपक्षी नेतालाई जेलबाट तत्काल रिहा गर्न माग गरे।

 

सर्वोच्च अदालतको बिहीबारको आदेशपछि प्रतिपक्षी दलका नेता तथा कार्यकर्ताहरूले निर्णयका पक्षमा सडकमा खुशियाली मनाउँदै प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ता र प्रहरीबीच शुक्रबार केही स्थानमा झडपसमेत भएका छन्।

विशेष