News

चारवटा प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्यो

चारवटा प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्यो

काठमाडौं । विभिन्न ४ वटा प्रदेशको आज बसेको पहिलो बैठकले अन्तरिम कार्य्विधि पारित गर्दै सभामुखको निर्वाचनको मिति तय गरेका छन् । प्रदेश नं २ र ५ ले सभामुखको निर्वाचन फागुन २ गते गर्ने भएका छन् ।

 

त्यस्तै प्रदेश नं ६ र ७ मा सभामुखको निर्वाचन माघ २९ गते हुने भएको छ । प्रदेश नं २ को अस्थायी मुकाम जनकपुरमा आज बसेको बैठकको सुरुमै मधेश केन्द्रित दलका सांसदले सभामुखको पछाडी पट्टी मधेश आन्दोलनमा सहिद भएकाहरुको तस्बिर नराखिएको भन्दै विरोध गरेका थिए ।

 

सभामुखले अर्को बैठकमा उनीहरुको माग बमोजिम तस्बिर राख्न निर्देशन दिएपछि बैठक सुरु भएको थियो । अर्को बैठक माघ २९ गते बिहान ११ बजे बोलाइएको छ ।

 

यस्तै ५ नम्बर प्रदेशको अस्थायी मुकाम बुटवलमा बसेको प्रदेशसभा बैठकमा दलीय आधारमा धारणा राखेका नेताले संघीयता र सम्वृद्धिका लागि सबै एक भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।

 

अस्थायी मुकाम सुर्खेतमा बसेको प्रदेश नं ६ को प्रदेशसभाको बैठकमा सदस्यहरुले सबैभन्दा कमजोर प्रदेश भएकाले बजेट तर्जुमा लगायत विकास निर्माणको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउन सबै दल एक जुट हुनुपर्नेमा जोड दिए ।

 

प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीमा बसेको प्रदेश सभाको बैठकमा बोल्ने प्रतिनिधिले आर्थिक समृद्धि र विकास सबैका साझा मुद्दा बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

 

दलीय आधारमा धारणा राखेका प्रतिनिधिले प्रदेशको आर्थिक विकास र समृद्धिका लागि सबै दलले साझा मुद्दा बनाएर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

 

प्रदेश सभा सञ्चालनका लागि नियमावली नबनेकाले पहिलो बैठकले अन्तरिम कार्य्विधि पारित गरेको हो । प्रदेश १ र ४ को भने बैठक भोलिका लागि बोलाइएको छ । तीन नम्बर प्रदेशको गत बिहीबार बसेको बैठकले सभामुखको निर्वाचनको मिति तय गरिसकेको छ ।

विशेष