News

सैतानी ब्याजको पासोः ऋणीलाई घरभित्र थुनेर निर्घात कुटपिट

सैतानी ब्याजको पासोः ऋणीलाई घरभित्र थुनेर निर्घात कुटपिट

सर्लाही । चर्को चक्रीय ब्याजदरमा ऋण दिने र ऋणीका नाममा फर्जी कागज बनाएर आर्थिक शोषणको श्रृंखला चलाइरहेका श्याम प्रदेशीले ऋणीलाई मरणासन्न हुने गरी कुटेका छन् ।

शुक्रबार ऋण तिर्न प्रदेशीको हरिपुर नगरपालिका २ स्थित घर पुगेका रामदयाल महतोलाई उनले घरभित्रै थुनेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

प्रदेशीले सैतानी ब्याजको पासो थापेर ३ सयभन्दा बढी अति विपन्न दलित समुदायमाथि आर्थिक शोषणको शृंखला चलाएका थिए । घाइते महतोलाई प्रहरीले उद्धार गरी हरिऔनस्थित नमुना अस्पतालमा उपचारका निम्ति पुर्‍याएको थियो । एक दिनको उपचारपछि उनी घर फर्केका छन् ।

करिब तीन वर्षअघि महतोले प्रदेशीसँग सात लाख रुपैयाँ ऋण लिएका थिए । महतोका अनुसार यो अवधिमा उनले घरखेत नै बेचेर ४० लाख रुपैयाँ बुझाइसकेका छन् ।

महतो पाँच लाख रुपैयाँ लिएर बाँकी ऋण चुक्ता गर्न प्रदेशीको घर पुगेका थिए । प्रदेशीले यति पैसा बुझाएर मात्रै हिसाब चुक्ता नहुने भन्दै आफूले गरेको हिसाबअनुसार सबै पैसा चुक्ता गर्नुपर्ने भन्दै धम्क्याएका थिए ।

प्रदेशीले साँवा ब्याज गरेर ९० लाख रुपैयाँ पुगिसकेको र सबै पैसा नतिरे उठिबास लगाइदिने भन्दै धम्क्याउँदै कुटपिटमा उत्रिएका थिए । ढोका थुनेर मुक्कैमुक्काले निरन्तर कुटेपछि महतो बेहोस भएका थिए । ‘कुटाइबाट म बेहोस भएछु,’ उनले भने, ‘होस आउँदा म एक्लै थिएँ ।

५ लाख रुपैयाँ पनि लगेछन् । मोबाइल साथमै थियो । फोन गरेर घरमा सूचना गरें । घरका सदस्यले प्रहरीलाई सूचना गरेपछि मेरो उद्धार भयो ।’ –कान्तिपुर दैनिकबाट

विशेष