माल्दिभ्समा राजनीतिक संकटः अदालतको आदेश नमान्न निर्देशन
माल्दिभ्स सरकारले राष्ट्रपति अब्दुल्लाह यामिनलाई गिरफ्तार गर्न वा महाभियोग लगाउन सर्वोच्च अदालतले आदेश दिए नमान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । माल्दिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नसिदमाथि लागेको आतंकवादको आरोप खारेज गर्दै पक्राउ परेका विपक्षी ९ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो ।यो आदेशसँगै माल्दिभ्समा विपक्षी दलले संसदमा बहुमत प्राप्त गरेको छ । तर माल्दिभ्स सरकारले अदालतको आदेश अस्वीकार गर्दै संसद् नै स्थगित गरिदिएको छ ।
अदालतको आदेशपछि महान्यायाधीवक्ता मोहम्मद अनिलले राष्ट्रपतिलाई गिरफ्तार गरिनु गैरकानुनी हुने बताउनुभयो । उहाँले सर्वोच्च अदालतले राष्ट्रपतिलाई पदच्युत गराउन खोजेको आरोप लगानुभयो । उहाँले सर्वोच्च अदालतले राष्ट्रपतिलाई गिरफ्तार गर्न आदेश दिए त्यो असंवैधानिक हुने बताउनुभयो ।
उहाँले सेना र प्रहरीलाई असंवैधानिक आदेश पालना नगर्न निर्देशन दिनुभयो । यसैबीच पूर्वराष्ट्रपति मोहम्मद नासिदले राष्ट्रपति यामिनले तत्काल सत्ता छाड्नुपर्ने बताउनुभएको छ । उहाँले सुरक्षा फौजलाई देशको संविधानको रक्षा गर्न पनि आह्वान गर्नुभएको छ ।