News ताजा खबर

गाउँपालिकाको नाम फेर्ने र केन्द्र सार्ने विषयले दियाे तनाव

गाउँपालिकाको नाम फेर्ने र केन्द्र सार्ने विषयले दियाे तनाव

काठमाडौं । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको गाउँसभाको निर्णय सार्वजनिकीकरण कार्यक्रममको पूर्वसन्ध्यामा स्थानीयले कार्यक्रमका लागि तयार गरिएको टेन्टमा आइतबार अबेर साँझ आगजनी गरेका छन् । स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष सतिषकुमार सिंहले सदरमुकाममा परिषद्को बैठक गरी आफूखुसी गाउँपालिकाको नाम परिवर्तन र केन्द्र सार्ने निर्णय गरेकाले विरोधमा उत्रेको तिलाठीका देवनारायण यादवले बताए । तिलाठी कोइलाडी गाउँपालिकाको पहिलो गाउँसभाको निर्णय सार्वजनिकीकरण गर्न सोमबारलाई कार्यक्रम तय गरिएको छ ।

स्थानीय सन्तोषकुमार झाका अनुसार गाउँसभाको एकदिन अगाडि सदरमुकाम राजविराजमा बोर्ड बैठक गर्दै अध्यक्ष सिंहले तिलाठी कोईलाडी गाउँपालिकाको नाम परिवर्तन गरी गजेन्द्रनारायण सिंह गाउँपालिका राख्ने निर्णय गरेको तथा तिलाठीमा रहेको केन्द्र सारेर आफनो गाउँ कोइलाडीको जिरिया पोखरी नजिक लाने निर्णय गरेकाले विरोध स्वरुप आफूहरु प्रतिकारमा उत्रेको बताए । गजेन्द्रनारायण सिंह सद्‍भावना पार्टीका संस्थापक अध्यक्ष हुन् ।

तिलाठीका स्थानीयहरुले सोमबार बिहान गाउँसभाका लागि हालको गाउँपालिका कार्यालय अगाडि लगाइएको टेन्टमा आगो लगाएका छन् । उनीहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । तिलाठीका बासिन्दाले गाउँपालिकाको नाम परिवर्तन र तिलाठीमा रहेको केन्द्र कुनै हालतमा सार्न नदिने बताए ।

तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सूचिता यादवले गाउँपालिका अध्यक्ष सिंह आफूखुसी गाउँपालिकाको नाम परिवर्तन र केन्द्र सार्न लागिपरेको आरोप लगाइन् । गाउँसभाको एकदिन अगाडि आइतबार राजविराज स्थित आशियाना पार्टी प्यालेसमा उक्त गाउँपालिकाको बोर्ड बैठक भएको थियो । बैठकमा उपाध्यक्ष यादवसहित १४ जनाको नाम परिवर्तन गर्ने र केन्द्र सार्ने प्रस्तावमा असहमति रहेको थियो ।

अध्यक्ष सिंहले गाउँपालिकाको नाम गजेन्द्रनारायण गाउँपालिका र केन्द्र तिलाठीबाट कोइलाडीको जिरिया पोखरी छेउमा लाने बहुमतको निर्णय रहेको दाबी गरे । उनले हाल गाउँपालिकास्थलमा ठाउँ अभाव रहेका कारण सदरमुकाममा बोर्ड बैठक गरेको स्वीकारे । हाल केन्द्र रहेको तिलाठीमा स्थानट्ठयहरुले टेन्टमा आगजनी गरेको तथा तालाबन्दी गरेकाले नयाँ तोकिएको केन्द्रमा सोमबार गाउँसभा गर्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी धु्रवकुमार श्रेष्ठले गाउँपालिकाको नाम परिवर्तन र केन्द्र सार्ने निर्णयको विरोधमा स्थानीयले कार्यक्रम स्थलमा आगजनी गरेको जानकारी आएको बताए । उनले उक्त स्थानको सुरक्षाका लागि नेपाल प्रहरीका २३ जना र सशस्त्र प्रहरीका ११ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

विशेष