News

शिक्षामा वार्षिक १ खर्ब २६ अर्बको सरकारी बजेट,साढे चार लाख बालबालिका विद्यालयबाहिर

शिक्षामा वार्षिक १ खर्ब २६ अर्बको सरकारी बजेट,साढे चार लाख बालबालिका विद्यालयबाहिर

-आव ०७४-७५ मा शिक्षामा कुल बजेट : १ खर्ब २६ अर्ब
– विद्यालय तहमा खर्च हुने बजेट : ८६% अर्थात् १ खर्ब ८ करोड
– विद्यालय तहमा कुल विद्यार्थी संख्या (कक्षा १–१२) : ७४ लाख १९ हजार
 -एक विद्यार्थीका नाममा राज्यबाट खर्च हुने रकम : १३ हजार ४८९ रुपैयाँ

तर, अनिवार्य कक्षाका साढे चार लाख बालबालिका विद्यालयबाहिर काठमाडौं उपत्यकामै २६ हजार बालबालिका पढाइबाट वञ्चित

संविधानले आधारभूत तह (कक्षा ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । तर, साढे चार लाख बालबालिका विद्यालयबाहिर छन् । विद्यालय तह अर्थात् कक्षा १२ सम्मका झन्डै १५ लाख बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विभागले जनाएको छ ।

विभागको पछिल्लो तथ्यांक सन् २०१६–१७ को फ्ल्यास १ रिपोर्टअनुसार विद्यालय उमेर समूहका बालबालिकामध्ये ४ लाख ३९ हजार ४१ हजार विद्यालयबाहिर रहेका छन् । जसमध्ये दुई लाख १८ हजार सात सय ७८ छात्रा र दुई लाख २० हजार दुई सय ६३ छात्र छन् । कक्षा १ मा भर्ना हुने उमेरका बालबालिका अझै ३० हजारभन्दा बढी विद्यालयबाहिर छन् । यीमध्ये छात्र १५ हजार एक सय ७४ र छात्रा १५ हजार १ सय ७० छन् ।

काठमाडौं उपत्यकामा नै २६ हजार विद्यार्थी विद्यालयबाहिर
काठमाडौं उपत्यकामा मात्रै अनिवार्य शिक्षा लिनुपर्ने उमेर समूहका २६ हजार २ सय ४३ बालबालिका विद्यालयबाहिर छन् । जसमा १७ हजार एक सय ९३ छात्र र नौ हजार ५० छात्रा छन् । सबैभन्दा बढी काठमाडौंमा २० हजार चार सय १५, ललितपुरमा दुई हजार नौ सय ८५ र भक्तपुरमा दुई हजार आठ सय ४३ बालबालिका विद्यालयबाहिर रहेको विभागको तथ्यांक छ । कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका बालबालिकाको संख्या ३३ हजार सात सय ९० रहेको छ ।

यस्तो छ अनिवार्य शिक्षासम्बन्धी विधेयकमा
शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विद्यालयमा बालबालिकालाई विद्यालय नपठाएमा स्थानीय तहबाट प्राप्त गर्ने सबै सुविधा रोक्ने उल्लेख गरिएको छ ।

ऐन प्रारम्भ भएपछि पाँच वर्ष पूरा भई १४ वर्ष उमेर पूरा नभएका प्रत्येक बालबालिकालाई स्थानीय तहले आधारभूत तहसम्म अनिवार्य शिक्षा प्रदान गर्ने व्यवस्था गर्नुपर्नेछ । आधारभूत तहको शिक्षा तथा माध्यमिक शिक्षा प्रदान गर्दा स्थानीय तहले आफ्नो इलाकाभित्र सञ्चालित वा स्वीकृति प्राप्त विभिन्न विद्यालयमार्फत प्रदान गर्ने व्यवस्था गर्नुपर्नेछ । शिक्षामा नागरिकको पहुँच र राज्यको दायित्व, २०८३ पछि आधारभूत शिक्षा नलिने सबैमा अयोग्य हुनेसमेत विधेयकमा उल्लेख छ । त्यसैगरी शुल्क, दस्तुर वा चन्दा लिन नपाउने पुस्तक, पोसाक र खाजाको व्यवस्था रहेको छ ।

सबैभन्दा बढी विद्यालयबाहिर रहेका जिल्ला
आधारभूत तहमा सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेको जिल्ला धनुषा हो । सो जिल्लामा आधारभूत तहमा १३ हजार २ सय ८९ छात्रा र ११ हजार ९ सय ८४ छात्र गरी कुल २५ हजार २ सय ७३ बालबालिका रहेका छन् ।

त्यसैगरी, सर्लाहीमा १३ हजार १ सय ६२ छात्रा र १० हजार ३ सय ४८ गरी कुल २३ हजार ५ सय १० बालबालिका विद्यालयबाहिर छन् । मोरङ, सिरहा, सुनसरी, सप्तरी, बारा, पर्सा, रौतहट धेरै बालबालिका विद्यालयबाहिर रहने जिल्लामा पर्छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

विशेष