प्रदेश ४ को प्रदेशसभा बैठक दर्शकदीर्घाबाट
पोखरा । सातै प्रदेशमा प्रदेशसभाका बैठक धमाधम शुरु भएसँगै जनता र राजनीतिक दलले लामो समयदेखि संघर्ष गर्दै आएको संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको टिप्पणी गरिएको छ ।
प्रदेशसभा नं ४ को प्रदेशसभा बैठकको दर्शकदीर्घामा रहेर अध्ययन गरेकी पूर्वसांसद बलावती शर्माले भने– यो बैठक बसिरहँदा हिजोदेखि हामीले संघर्ष गर्दै आएको संघीयता कार्यान्वयन भएको अनुभूति भएको छ ।
अरु प्रदेशको तुलनामा प्रदेश नं ४ मा पर्याप्त साधनस्रोत भएको हुँदा साँच्चिकै उत्कृष्ट प्रदेश बनाउनुपर्छ भन्नेमा प्रदेशसभाका सदस्यले जोड दिएका छन्, निर्वाचनको बेला दलहरुले गरेका प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्छ, जसबाट प्रदेश सम्मुन्नत हुनेछ, जनता सुखी हुनेछन्– उनले भनिन् ।
संघीय संसद्का सांसद रवीन्द्र अधिकारीले प्रदेशसभाको सञ्चालन पूर्वाधारको जे अवस्था छ, त्यसभित्र रहेर शुरु भएकाले व्यवस्थापन र सञ्चालनको तयारी राम्रो ढंगबाट भएको प्रतिक्रिया दिए ।
उनले भनिन्– “प्रदेशसभा सदस्यले मर्यादित ढंगबाट आफना विचार राख्नुभएको छ, पहिलो बैठकले संघीयताको जीवन्तता प्रस्तुत गरेको छ, प्रदेशसभाको झल्को आउने गरी राम्रैसँग काम भएको छ, भोलिका दिनमा सभामुख, राजनीतिक दल र सरकारको क्रियाशीलता, प्रभावकारिता र सिर्जनशीलताबाट संघीयता प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ ।”
सांसद अधिकारी भन्छन्– “प्रदेशसभा कानून निर्माणमा क्रियाशील हुनुपर्छ, कानून निर्माण र प्रदेशसभा सरकार सञ्चालन ठीक ढंगले गर्न सभाले भूमिका खेल्ने छ ।”
अर्का सांसद जगत विश्वकर्माले प्रदेशसभाको बैठक अत्यन्त प्रभावकारी र ऐतिहासिकरुपले सम्पन्न भएकोमा आफूलाई गौरव महसुस भएको प्रतिक्रिया दिए ।
बैठकमा मूलरुपले प्रदेश नं ४ लाई समृद्ध तुल्याउने जस्ता समसामयिक विषय उठेका छन्, जनताको जनजीविकालाई लक्ष्य गरेर विषय आएका हुन्, यसलाई कार्यान्वयन गरेर अघि बढ्नुपर्दछ, आगामी दिनमा विकसित र समुन्नत प्रदेशका रुपमा विकास गर्छाैं भन्ने सबैबाट प्रतिबद्धता व्यक्त हुनु शुभसंकेत हो– उनले भने ।
दर्शकदीर्घाबाट उक्त प्रतिक्रिया आइरहँदा बैठकमा प्रदेशसभा सदस्य पृथ्वी सुब्बा गुरुङले प्रदेश नम्बर ४ लाई हरेक दृष्टिकोणबाट समृद्ध भएको हामी देश र दुनियाँलाई देखाउन चाहन्छाैं भनी अठोट व्यक्त गरिरहेका थिए ।
प्रदेशसभाले यस प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदलाई पहिलो बैठकका लागि आमन्त्रण गरेको थियो । बैठकमा पूर्वसांसदहरुको उपस्थिति पनि निकै बाक्लोरुपमा देखिन्थ्यो ।