सक्ने भए सिके राउतलाई राज्यले नै खुलामन्चमा फाँसी देओस्ः सञ्जिव कुमार झा (भिडियो)
'कांग्रेसलाई अरु कसैले सिद्ध्याउनै पर्दैन, देउवा नै काफी छन्'
काठमाडौं । नेकपा एमालेका युवा नेता तथा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य सञ्जिव कुमार झाले केपी ओली एक युगमा जन्मिने युगनेता भएको बताएका छन् ।
नेपालआजसँग अन्तरवार्तामा बोल्दै उनले ओलीको राजनीतिमा भुमिकाबारे खुलेर प्रशंसा गरे । जसले गर्दा कुटनीतिक क्षेत्रमा नयाँ परिवर्तन ल्याएको उनको भनाइ छ ।
भारतीय विदेशमन्त्री शुष्मा स्वाराजको नेपाल भ्रमणका क्रममा फोरमका केही नेता तथा जनप्रतिनिधिहरुसँग भेट गरेको प्रशंगमा बोल्दै उनले त्यसमा आश्चर्य मान्नु नपर्ने विषय पनि बताए ।
यसबाहेक झाले पहिले नेपालका नेताहरु भारत धाउने गरेको तर अचेल भारतीय नेताहरु नै नेपाल धाउन थालेको टिप्पणी गरेका छन् । साथै वाम गठबन्धनका कारण भारतका ठूला नेता पनि नेपाल धाउन विवश भएको उनको भनाइ थियो ।
केपी ओलीलाई प्रधानमन्त्री बनाउनकै लागि अहिले बनेको वाम गठबन्धनले भोट पाएको उनको बुझाइ छ । ‘केपी ओली राष्ट्रियताको पक्षमा जसरी उभिनुभयो त्यसकै फलस्वरुप जनताले मत दिएका हुन् ।’ उनले भने, ‘नेपाली जनताले केपी ओलीलाईनै प्रधानमन्त्री बनाउन यत्रो ठूलो जनादेश दिएका हुन् । उहाँको विकल्पमा अरु कोही प्रधानमन्त्री बन्न सक्दैन ।’
वाम गठबन्धनको सरकार बनेपछि देशका आम जनताले पनि यो देश समृद्धि र विकासको बाटोमा तिब्र रुपमा लाग्ने उनको विश्वास थियो ।
‘एमालेलाई मधेसविरोधी पार्टीको रुपमा चिनिन्छ नी ?’ भन्ने प्रश्नमा उनले एमाले र केपीको भाषणको बारेमा भ्रम फैलाइएको बताए । तर कहिल्यै पनि एमाले मधेसको विरुद्धमा नरहेको उनको भनाइ छ । बरु केपी ओली नेतृत्वको सरकारमै सबैभन्दा बढी बजेट मधेसमा खर्च भएको उनले स्मरण गराए ।
यस्तै मधेसमा अलग राज्यको माग गर्ने सिके राउतको बारेमा पनि उनले कडा टिप्पणी गरे । उनले अब सिके राउतका दिन हराउँदै गएको बताए । राज्यले नै सिके राउतलाई अनावस्यक महत्व दिएको उनको भनाइ थियो । ‘सक्छ भने राज्यले कानुन बनाएर खुलामन्चमा ल्याएर देशद्रोहको विरुद्ध लागेको भन्दै फाँसी देओस् नत्र राज्यले नै बढी महत्व दिँदैछ ।’ तर मधेसका जनताले सिके राउतलाई ध्यान नदिएको उनले बताए ।