विदेश

बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाका समर्थकद्वारा ढाकामा विरोध प्रदर्शन

बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाका समर्थकद्वारा ढाकामा विरोध प्रदर्शन

ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई यहाँको सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेपछि उनका समर्थकहरुले राजधानी ढाकामा विरोध प्रदर्शन थालेका छन् ।

 

उनलाई बिहीबार पाँच वर्षको जेल सजायको फैसला भएको थियो । सो फैसलाको विरोधमा बङ्गलादेशको राजधानी ढाकामा उनका समर्थकहरुले आन्दोलन थालेका बताइएको छ ।

 

७२ वर्षीया जियामाथि बालबालिकासम्बन्धी एउटा परोपकारी कोषको रकम हिनामिना गरेको आरोप थियो । तर उनले यो आरोपको खण्डनगर्दै आएका थिए ।

 

सो फैसलापछि राजधानी ढाकामा उनका समर्थकहरुले अदालत र सरकारका विरुद्ध आन्दोलन गरेका छन् । उनीहरुले जियामाथि राजनीतिक प्रतिशोधका आधारमा फैसला गरिएको भन्दै उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

 

शुक्रबार पनि बिहानैदेखि ढाकामा विरोध प्रदर्शनहरु सुरु भएका छन् । प्रहरीले अश्रु ग्याँस प्रयोग गरेर जियाका हजारौँ समर्थकलाई तितरबितर पारेको थियो ।

 

उता हिजो नै फैसला सुनाउने समयमा पनि ढाकास्थित अदालतमा कडा सुरक्षा अपनाइएको थियो ।

 

बङ्गलादेशको पूर्व प्रधानमन्त्री उनलाई लागेको भ्रष्टाचारको अरोपमाथि विगत लामो समयदेखि सुनुवाई जारी रहेको थियो । सो मुद्दामा बिहीबार भएको अन्तिम सुनुवाइमा अदालतले उनलाई पाँच वर्षको जेल सजाय फैसला गरेको हो ।

 

यो मुद्दामा भएको सुनुवाइपछि उनले यसै वर्षको अन्त्यतिर हुन लागेको संसदीय चुनावमा पनि भाग लिन नपाउने भएको बङ्गलादेका कानुनी क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

 

उनले आफूविरुद्धका आरोपहरु राजनीतिक रुपमा प्रेरित रहेको भन्दै विगतदेखि नै आपत्ति जनाउदै आएका थिए । यो फैसलापछि पनि उहाँले सो प्रतिक्रिया दिएकाे बताइएको छ ।

 

उनका विरुद्धमा अरु पनि कैयौँ मुद्दाहरु अदालतमा थाती रहेका छन् । पछिल्लो मुद्दा जियाविरुद्ध थाती रहेका दर्जनौँ मुद्दामध्येको एक भएको पनि समाचारमा जनाइएको छ ।

 

हिजो उनका विरुद्धमा फैसला सुनाउदा कडा सुरक्षा व्यवस्था अपनाइएको थियो । बङ्गलादेशको भ्रष्टाचार हेर्ने विशेष अदालतका न्यायाधीश मोहम्मद अख्तारुज्जमानले बिहीबार सो फैसला गरेका हुुन् ।

 

उक्त फैसलामा अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहितका अरु पनि पाँच जनालाई पनि दश वर्षको जेल सजाय सुनाएको छ । उक्त भ्रष्टाचार मुद्दामा उनीहरु पनि संलग्न भएको पाइएको अदालतको फैसलामा उल्लेख छ ।

 

उनले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिनसक्ने बताइएकाे छ । उनका अधिवक्ताले यस विषयमा शुक्रबार नै निर्णय गरिने बताएका छन् ।

 

जियासहित पाँच जनाविरुद्ध सन् २००८ को जुलाइमा भ्रष्टाचारसम्बन्धी उक्त मुद्दा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बनेका थिए ।

विशेष